ओपो एफ११ प्रोको भारत र नेपालबिचको मूल्यमा १२ हजार रुपैयाँ फरक, ओपो नेपालले ग्राहक ठग्दै

Technology Khabar ३१ श्रावण २०७६, शुक्रबार

ओपो एफ११ प्रोको भारत र नेपालबिचको मूल्यमा १२ हजार रुपैयाँ फरक, ओपो नेपालले ग्राहक ठग्दै

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले पछिल्लो दिनहरुमा नेपाली बजारमा नेपाली उपभोक्ताहरुलाई मूर्ख बनाएर अधिक नाफा कमाईरहेको देखिन्छ । ओपोले आफ्नो एफ सिरिजको पछिल्लो स्मार्टफोन ओपो एफ ११ प्रो (Oppo F11 Pro) को मूल्य नेपाली बजारमा नघटाउँदा उपभोक्ताहरुलाई सिधै बढि मूल्य लिएर अधिक नाफा गरिरहेको देखिन्छ ।

छिमेकी मुलुक भारतमा पटक पटक ओपो एफ ११ प्रो स्मार्टफोनको मूल्य घटेपनि नेपाली बजारमा भने कम्पनीले पुरानै चर्को मूल्यमा स्मार्टफोन बिक्री गरिरहेको छ ।

हालै ओपो एफ ११ र ओपो एफ ११ प्रो स्मार्टफोनको मूल्य भारतमा कम गरिएको छ । यी दुबै स्मार्टफोनहरुमा यसअघिको मूल्यमा भारु २ हजार रुपैयाँसम्म घटाईएको छ ।

भारतमा घटेको नयाँ मूल्य अनलाईन र अफलाईन दुबैमा लागू हुने बताईरहँदा नेपाली बजारमा भने भारतको भन्दा करिब १२ हजार रुपैयाँ महंगोमा स्मार्टफोन बिक्री गरिरहेको छ ।

भारतीय बजारमा ओपो एफ ११ को मूल्य ४ जीबी १२८ जीबी स्टोरेजको लागि भारु १७,९९० बाट घटेर भारु १६,९९९ तोकिएको छ भने ६जीबी र्याम भेरिएन्टको मूल्य १९,००० बाट घटाएर १७,९९९ तोकिएको छ । भारतमा सो स्मार्टफोन लन्च गरेदेखि यो दोस्रो पटक मूल्य घटाईएको हो ।

त्यस्तै ओपो एफ ११ प्रोको ६ जीबी १२८ जीबीको मूल्य मात्र घटेको छ, जहाँ पहिलेको भारु २३,९९० को साटो अब नयाँ मूल्य २१,९९० भएको छ । यो नयाँ मूल्य ईकमर्श फ्लिपकार्ट र अमेजन दुबैमा उपलब्ध रहेको बताईएको छ । यसको बेस भेरिएन्टमा भने यसअघि नै मूल्य घटाएर २०,९९० भारु गरिएको थियो ।

यदि नेपालको र भारतको मूल्य तुलना गर्ने हो भने नेपाली बजारमा यो स्मार्टफोनको समान भेरिएन्टको मूल्य ४७,९९० रुपैयाँ तोकिएको छ र हालसम्म सो बजार मूल्य घटाईएको छैन् । भारतीय बजारमा पनि सोहि ६जीबी भेरिएन्टको नयाँ घटेको मूल्य भारु २१,९९० अर्थात करिब ३५ हजार १८४ रुपैयाँ तोकिँदा पनि नेपाली बजारमा भने ४७,९९० रुपैयाँ रहेको छ ।

नेपाली बजार मूल्य ओपो नेपालको आधिकारिक फेसबुक पेजमा अगस्ट १३ तारिखसम्मको अपडेटअनुसार स्पष्टरुपमा राखिएको छ । जहाँ संभावित उपभोक्ताहरुले सोधेको मूल्यको बारेमा जवाफ दिँदै सो नेपाली मूल्यको बारेमा जानकारी दिईएको छ ।

यसरी हेर्दा नेपाली बजारमा र छिमेकी मुलुक भारतको बजारमा ओपो एफ ११ प्रोको मूल्य अन्तर स्पष्ट रुपमा १२ हजार ८ सय रुपैयाँ भन्दा अधिक हुन्छ । यसको अर्थ नेपाली बजारमा ओपोको मूल्य १२ हजार ८ रुपैयाँ महंगोमा कम्पनीले बिक्री गरिरहेकोछ ।

यदि भारतको पहिलेकै मूल्य भारु २३,९९० अर्थात ३८, ३८४ नेपाली रुपैयाँलाई नै आधार मान्ने हो भने पनि ओपो नेपालले नेपाली ग्राहकसँग चर्को मूल्य असुली रहेको देखिन्छ । भारतको मूल्य ३८,३८४ र नेपाली बजार मूल्य ४७,९९० बिचको अन्तर हेर्दा पनि करिब ९ हजार ६ सय रुपैयाँको अन्तर देखिन्छ ।

एउटा स्मार्टफोनमा ९ हजार रुपैयाँको मूल्य अन्तर भनेको निकै ठूलो हुने गर्दछ । उदाहरणको लागि यदि ओपो नेपालले नेपालभर एक दिनमा १० वटा मात्र फोन बेचे पनि कम्पनीले वर्षमा ३,६५० वटा फोन बेच्छ र ती सबैमा प्रत्येक यूनिटमा समान ९ हजार रुपैयाँ भन्दा बढिको मार्जिन हुन्छ । यसको अर्थ कम्पनीले एक वर्षमा नै ३ करोड रुपैयाँ भन्दा बढि नाफा आर्जन गर्न सक्दछ ।

समान फीचर र स्पेक भएको सो ओपो एफ ११ प्रोको भेरिएन्टमा दुई मुलुकबिच यति ठूलो बजार मूल्य अन्तर हुँदा त्यसले ग्रे मार्केटलाई पनि प्रसय दिईरहेको छ । जसलाई ओपो नेपाल आफैंले प्रोत्साहन गरेको नै भन्दा हुने ताम्राकार मोबाइल कम्प्लेक्समा पसल गर्ने एक व्यवसायीले भने ।

उनकाअनुसार मिड रेन्जको स्मार्टफोन मोडलमा भारतीय र नेपाली मूल्य बिचको फरक यति धेरै हुनु भनेको यहाँ ओपो एफ ११ प्रो फोन किन्नेलाई ठगे जस्तै नै हो।

‘हामी पनि ओपो एफ ११ प्रो बेच्ने गर्दथ्यौं, कम्पनीले अधिक नाफा लिन मूल्य नघटाउने तर ग्राहक ठगिने जस्तो भएपछि हामीले बिक्री गर्न छोड्यौं,’ ती व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

ओपो एफ ११ प्रोमा ६.५ इन्चको फूलएचडी डिस्प्ले छ भने १६ मेगापिक्सेलको पप अप सेल्फी क्यामरा राखिएको छ । फोनमा मिडिया टेकको हेलियो पी ७० प्रोसेसरका साथै ६जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ । यसको रियर क्यामरा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलको छ भने फोनमा ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

easy care

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार