भारतको ७३ औं स्वतन्त्रता दिवस काठमाडौं स्थित भारतीय राजदूतावासमा मनाईयो

काठमाडौं । काठमाडौं स्थित भारतीय राजदूतावासमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइएको छ । सो दिवसको शुभारम्भ नेपालका लागी भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरेसँगै भयो ।

त्यसपश्चात राजदूत पुरीले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । सो सन्देशमा भारतले गएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरु बारे उल्लेख गरिएको थियो ।

राजदूतद्वारा ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेरु ५.३१ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको जानकारी दिएको छ ।

राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुप प्रदान गरेको छ। राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको छ ।

भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागिता रहेको थियो ।