एनसेल र नेपाल टेलिकमका २ दर्जन टावरमा विप्लब समूहद्धारा आगजनी

Technology Khabar १६ श्रावण २०७६, बिहीबार

एनसेल र नेपाल टेलिकमका २ दर्जन टावरमा विप्लब समूहद्धारा आगजनी
प्रतिकात्मक

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमको विभिन्न स्थानमा रहेका टेलिफोन टावरहरुमा विप्लब समूहले आगजनी गरेको छ ।

दुबै कम्पनीका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार एनसेलको २२ वटा टावर र नेपाल टेलिकमको एउटा टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताए।

प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो ।

यस्तै, अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ ।

गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: १६ श्रावण २०७६, बिहीबार

Comments are closed.

Loading...