बाँकी बक्यौता रकम बारे दूरसंचार प्राधिकरणको निर्णय, १५ दिनभित्र नबुझाए कम्पनीहरु स्वतः खारेज

Technology Khabar १३ श्रावण २०७६, सोमबार

बाँकी बक्यौता रकम बारे दूरसंचार प्राधिकरणको निर्णय, १५ दिनभित्र नबुझाए कम्पनीहरु स्वतः खारेज
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

अनुज राज ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार कम्पनीहरुलाई १५ दिनपछि स्वत: खारेज गर्ने भएको छ ।

प्राधिकरणको आज बसेको बोर्ड बैठकले कम्पनीहरुलाई अन्तिम पटक १५ दिनको समय दिँदै सो अवधिभित्र बाँकी बक्यौता रकम नबुझाए ती कम्पनीहरु स्वत: खारेज हुने निर्णय गरेको छ ।

बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई अन्तिम मौका दिएको र सो अवधिमा पनि नतिरेमा स्वत खारेज हुने निर्णय गरेको प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘कम्पनीहरुले मागेअनुसारको समय पटक पटक दिएको र अझ अन्तिम अवधि १५ दिनको दिएका छौं । सो अवधिमा बाँकी बक्यौता नतिरे बाँकी बक्यौता नतिर्ने ती कम्पनीहरु स्वत: खारेज हुनेछन्,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरलाई भने ।

उनकाअनुसार १५ दिनभित्र निश्चित रकम तिर्न स्मार्ट टेलिकमले पत्र दिएको र बाँकी रकम ३ महिनाभित्र तिर्ने बताएको छ । अन्य इन्टरनेट सेवा प्रदायकहरुले भने रकम तिर्ने बारे उल्लेख नै नगरेको हुँदा ती कम्पनीहरुले १५ दिनभित्र बाँकी बक्यौता नतिरे स्वत खारेज हुनेछन् ।

स्मार्ट टेलिकमले भने १५ दिनभित्र रोयल्टी, ग्रामीण दूरसंचार विकास कोषलगायतको करिब ३० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जाहेर गरेको छ भने बाँकी रकम ३ महिनाभित्र बुझाउने उल्लेख गरेको छ ।

‘यदि स्मार्टले १५ दिनभित्र ३० करोड नतिरेमा पहिलो चरणमा नै स्वत: खारेज हुनेछ भने १५ दिनभित्र ३० करोड बुझाएर बाँकी रकम ३ महिना भित्र नतिरेमा पनि स्वत: खारेज हुनेछ,’ अध्यक्ष खनालले जानकारी दिए ।

यसअघि दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई अन्तिम पटक स्पष्टिकरणको मौका दिएको थियो । सो अवधिमा स्मार्ट टेलिकम र ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसनले मात्र स्पष्टिकरणको पत्र बुझाएका थिए ।

स्मार्टले विभिन्न समयवधिको म्याद मागेको थियो भने ब्रोडलिंकले रकम नै तिर्न नसक्ने आशयको पत्र दूरसंचार प्राधिकरणलाई बुझाएको थियो । अन्य कम्पनीहरुले भने कुनै स्पष्टिकरणको पत्र बुझाएका थिएनन् ।

यसैबिच नेपाल स्याटेलाइट टेलिकमले भने थप केहि दिनको मौका पाउने भएको छ । दूरसंचार प्राधिकरणको स्पष्टिकरण बुझाउने १० दिने म्याद भएको पत्र कम्पनीलाई ६ गते मात्र पठाएपछि नेपाल स्याटेलाइट टेलिकमले थप केहि दिनको अवधि पाएको हो ।

साउन ६ गतेदेखि १० दिन अर्थात साउन १६ गतेभित्र नेपाल स्याटेलाइट टेलिकमले स्पष्टिकरण बुझाउनुपर्नेछ भने बाँकी बक्यौता रकम तिर्नुपर्नेछ । सो अवधिमा नतिरेमा अहिलेको निर्णयको आधारमा नै सो कम्पनीको बारेमा निर्णय हुनसक्ने प्राधिकरणका एक अधिकारीले बताए ।

तोकिएको १५ दिनभित्र रकम नबुझाए स्मार्ट टेलिकमसहित इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन, वेब सर्फर नेपाल कम्यूनिकेसन सिस्टम प्रालि, आईटेल कम्यूनिकेसन्स प्रालिलगायत स्वत खारेज हुनेछन् ।

बाँकी बक्यौता नतिर्ने अर्को टेलिकम कम्पनी यूनाईटेड टेलिकम लिमिटेड(यूटिएलले भने सर्वोच्च अदातलबाट अन्तरिम आदेश ल्याएपछि त्यसको बारेमा भने निर्णय प्राधिकरणले गरेको छैन् ।

Global Bank
easy care

प्रकाशित: १३ श्रावण २०७६, सोमबार