टेक कम्पनी एप्पलले माग गरेपछि ‘अल्ट्रा वाइड ब्याण्ड’ टेक्नोलोजी खुला गर्दै संचार मन्त्रालय

Technology Khabar ७ श्रावण २०७६, मंगलवार

टेक कम्पनी एप्पलले माग गरेपछि ‘अल्ट्रा वाइड ब्याण्ड’ टेक्नोलोजी खुला गर्दै संचार मन्त्रालय
सांकेतिक

काठमाडौं ।

अनुज राज । काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले अल्ट्रा वाइड ब्याण्ड(यूडब्लूबी) फ्रिक्वेन्सी खुला गर्ने तयारी गरेको छ । विश्वका अधिकांश मुलुकहरुमा लाइसेन्स आवश्यक नपर्ने ब्याण्डको रुपमा रहेको सो फ्रिक्वेन्सी टेक्नोलोजी हालसम्म नेपालमा उपयोग भएको छैन् ।

मन्त्रालयले हाल प्रयोगमा नरहेको सो नयाँ फ्रिक्वेन्सी खुला गर्न माग भएपछि प्रयोगमा ल्याउन लागेको हो । सो ब्याण्ड खुला गर्नको लागि अमेरिकी टेक कम्पनी एप्पलले अनुरोध गरेसँग मन्त्रालयले सो बारेमा प्रकृया अगाडि बढाएको हो ।

नेपालमा नानो टेक्नोलोजी प्रालिले सर्ट रेन्ज एप्लिकेसनको लागि अल्ट्रा वाइड ब्याण्ड टेक्नोलोजी प्रयोग गर्न अनुमति मागेसँग नेपालले पनि सो ब्याण्डलाई लाइसेन्स लिन नपर्ने ब्याण्डको रुपमा खुला गर्न लागेको हो । नेपालमा एप्पलले सो ब्याण्ड खुला गर्न गएको मंसिर २१ गते निवेदन दर्ता गरेको थियो । विशेषगरि यो प्रविधि विभिन्न किसिमका स्मार्ट टेक्नोलोजीसहितका यूजर डिभाइसमा प्रयोग गर्ने गरिन्छ ।

यसको लागि कम्पनीले सर्ट रेन्ज एप्लिकेसनको लागि ६ देखि ८.५ गीगाहर्जमा अल्ट्रा वाइड ब्याण्ड टेक्नोलोजी प्रयोग गर्नको लागि अनुमति माग गरेको मन्त्रालयका एक अधिकृतले टेक्नोलोजीखबरलाई जानकारी दिए ।

‘अमेरिकी टेक कम्पनी एप्पलले पहिलो पटक माग गरेको हुँदा नेपालमा पनि यो फ्रिक्वेन्सी रेन्ज खुला गर्न लागिएको हो । यो फ्रिक्वेन्सी लाइसेन्स लिन नपर्ने फ्रिक्वेन्सी ब्याण्डको रुपमा हुनेछ,’ मन्त्रालयका एक अधिकृतले टेक्नोलोजीखबरलाई भने ।

मन्त्रालयले यसको लागि दूरसंचारका फ्रिक्वेन्सीहरु हेरिरहेको नेपाल दूरसंचार प्राधिकरणसँग पनि राय माग गरिसकेको र त्यहाँबाट पनि खुला गर्न सकिने सुझाव दिईएको ती अधिकारीको भनाई छ । सो बारेमा मन्त्रालयले गत पुष ९ गते नै पत्र पठाउँदै प्राधिकरणसँग राय माग गरेको थियो भने प्राधिकरणले सो ब्याण्डमा अल्ट्रा वाइड ब्याण्ड टेक्नोलोजी प्रयोग अस्थाईरुपमा खुला गरेको जानकारी दिएको थियो ।

प्राधिकरणले सो माग गरेको सर्ट रेन्ज एप्लिकेसनको लागि ६ देखि ८.५ गीगाहर्जमा अल्ट्रा वाइड ब्याण्ड टेक्नोलोजीले हाल संचालनम रहेका दूरसंचार सेवाहरुलाई असर नपर्ने गरी खुला गरेको जानकारी मन्त्रालयलाई गराएको थियो ।

सोहि आधारमा मन्त्रालयले एप्पलको लागि नेपालमा अनुमतिको कार्य गर्ने नानो टेक्नोलोजीलाई सोहि जानकारी गराएको मन्त्रालयका अधिकारीले स्पष्ट पारे ।

किन माग्यो एप्पलले सो टेक्नोलोजी

एप्पलले आफ्ना नयाँ डिभाइसहरुमा अल्ट्रा वाइड ब्याण्ड टेक्नोलोजी प्रयोग गर्न सक्ने यसअघि नै अन्तराष्ट्रिय रिपोर्टहरु आईसकेका थिए । एप्पलले नयाँ आइफोनहरुमा यूडब्लूबी टेक्नोलोजी प्रयोग गरिने र त्यसको लागि आवश्यक ब्याण्ड छुट्याउन माग गर्दै विश्वका विभिन्न देशहरुमा सो टेक्नोलोजी र ब्याण्ड खुला गरिदिन भन्दै निवेदन दिईरहेको छ ।

नेपालमा पनि सो टेक्नोलोजीको बारेमा स्पष्ट पार्न र अल्ट्रा वाइड ब्याण्ड खुला गरिदिन माग गरेपछि मन्त्रालयले खुला गर्न लागेको हो ।

‘अल्ट्रा वाइड ब्याण्ड खुला नहुँदा एप्पलले नयाँ आइफोनलगायतका उत्पादन नेपालमा आयात नै गर्न नसकिने अवस्था आउने जानकारी दिएको थियो, त्यसैले हामीले यसबारेमा अन्य देशहरुको पनि अध्ययन गरेर खुला गर्न लागेका हौं,’ मन्त्रालयका ती अधिकारीले भने ।

एप्पलकाअनुसार यूडब्लूबीमा रेडियो सिग्नल ठूलो फ्रिक्वेन्सी ब्याण्डमा फैलाउन सकिन्छ । यूडब्लूबी सामान्यतथा लो पावरमा नै ट्रान्समिट गर्न सकिने र यसअघि नै छुट्याईएका ब्याण्डहरु जस्तै सेटेलाइट सर्भिस, माइक्रोवेभ लिंक, रेडियोलोकेसनलगायतमा पनि संचालन गर्न सकिन्छ ।

सन् २००४ मा पहिलो पटक अमेरिकाको फेडेरल कम्यूनिकेसन्स कमिसन(एफसीसी)ले यूडब्लूबी टेक्नोलोजी तोकिएका उत्पादनहरुमा मात्र प्रयोग गर्न सकिने गरि अनुमति दिएको थियो । यसपछि यूरोपेली आयोगले पनि सन् २००७ मा यो यूडब्लूबी टेक्नोलोजी प्रयोग गर्नको लागि अनुमति दिएकोथियो भने त्यसपछि अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियनका देशहरुमा अनुमति खुला गरिएको थियो ।

के हो अल्ट्रा वाइड ब्याण्ड टेक्नोलोजी

अल्ट्रा वाइड ब्याण्ड एउटा कम्यूनिकेसनको माध्यम हो जून वायरलेस नेटवर्किंगमा प्रयोग गरिन्छ र यसमा निकै कम पावर खपत हुने गर्दछ । तर यसमार्फत उच्च ब्याण्डविथ कनेक्सन प्राप्त गर्न सकिन्छ । अर्को अर्थमा भन्दा यसमा एकैपटक सिमित दूरीसम्म धेरै डाटाहरु उच्चगतिमा न्यून उर्जाका साथ आदान प्रदान गर्न सकिन्छ । यसबाट ५०० मेगाहर्जको स्तरमा डाटा आदानप्रदान गर्न सकिन्छ ।

शुरुवाती चरणमा यसलाई कमर्शीयल राडार सिस्टमको लागि डिजाइन गरिएको थियो तर अब भने अल्ट्रा वाइड ब्याण्ड टेक्नोलोजी कन्जुमर इलेक्ट्रोनिक्स र वायरलेस डिभाइसहरुमा प्रयोग हुन लागेको छ ।

easy care

प्रकाशित: ७ श्रावण २०७६, मंगलवार