टिकटक एपलाई भारतको कडा पत्र, तोकिएको समयमा चित्तबुझ्दो जवाफ नपाए प्रतिबन्धित हुने

Technology Khabar २ श्रावण २०७६, बिहीबार

टिकटक एपलाई भारतको कडा पत्र, तोकिएको समयमा चित्तबुझ्दो जवाफ नपाए प्रतिबन्धित हुने
NTC_Advt

काठमाडौं । भिडियो शेयरिंग एप टिकटकमा तपाईँले विभिन्न किसिमका रमाईला भिडियोहरु हेर्नु भएकै होला र आफूले पनि विभिन्न किसिमका भिडियोहरु बनाउनु भएकै होला । तर यसमा रमाईला र रोचक भिडियोहरु मात्र नभई अश्लिल भिडियोहरु पनि राखिने गरेको आरोप लाग्दै आएको छ ।

यहि विषयलाई ध्यानमा राखेर टिकटक एप निकै लोकप्रिय रहेको छिमेकी मुलुक भारतले टिकटक एप्सका साथै अर्को हेलो नामक एपलाई पनि कडा पत्र पठाउँदै जवाफ मागेको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना टेक्नोलोजी मन्त्रालयको साइबर ल एण्ड ईसेक्योरिटी विंगले टिकटक र हेलो एप प्लेटफर्मका अपरेटरहरुलाई कडा पत्र पठाएको हो । सो पत्रको जवाफ यहि जुलाई २२ तारिखसम्म दिनुपर्ने उल्लेख छ ।
यी दुबै एप्स चिनियाँ कम्पनी बाइटडान्सले संचालन गरिरहेको छ ।

भारतको सो मन्त्रालयले २४ वटा प्रश्नहरु गर्दैै भारत विरोधी कन्टेन्ट फैलाएको र अन्य अश्लिल भिडियो तथा गैर कानूनी गतिबिधिहरुलाई बढावा दिएको आरोप लगाएको छ ।

सो पत्रमा आपत्तिजनक कन्टेन्टहरुमा कसरी अनुगमन हुन्छ, र त्यस्तो कन्टेन्ट भेटिएमा कसरी हटाईन्छ ? कम उमेरका यूजर्सहरुको लागि के प्रावधान छ, यूजर्सको डाटा कसरी संकलन र शेयर गरिन्छ । भारतीयहरुको डाटा चीनमा पनि स्टोर हुन्छ वा हुँदैन्, यूजर्सको डाटा तेस्रो पक्षलाई बिक्री हुन्छ वा हुँदैन लगायतका २४ प्रश्नहरु गर्दै त्यसको प्रतिउत्तर दिन भारतीय सरकारले भनेको छ ।

भारतमा यसअघि पनि टिकटक एप अस्थाईरुपमा एप स्टोरहरुबाट हटाईएको थियो भने टिकटक एप संचालक कम्पनीले त्यसमा भएका गलत भिडियोहरु डिलिट गरिएको जानकारी दिएको थियो । अहिले पनि टिकटक तथा हेलो एपको तर्फबाट भारत सरकारलाई पुरा सहयोग गर्ने बताएका छन् ।

कम्पनीले भारतमा मात्रै आगामी ३ वर्षमा १ बिलियन अमेरिकी डलर लगानी गर्ने जानकारी समेत दिएको छ ।

भारत सरकारको सो पत्रको जवाफ तोकिएको समयभित्र नदिएमा टिकटक एप र हेलो एपमा प्रतिबन्ध लाग्न सक्ने रिपोर्टहरुमा उल्लेख छ ।

एजेन्सी

प्रकाशित: २ श्रावण २०७६, बिहीबार