ह्वावे टेक्नोलोजीजले स्मार्ट टेलिभिजन ल्याउँदै, आफैंले विकास गरेको अपरेटिंग सिस्टम प्रयोग गरिने

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीजले यहि वर्ष आफ्नै नयाँ अपरेटिंग सिस्टम लन्च गर्ने तयारी गरिरहेको रिपोर्टहरु धेरै समयदेखि आईरहेको छ । कम्पनीेले होंगमेंग नामक ओएस आउँदो अगस्टमा गरिने डेभलपर्स कन्फ्रेन्समार्फत शुरु गरिने अनुमान गरिएको छ ।

तर यो बारेमा कुनै स्पष्ट जानकारीहरु नहुँदा अझै अनुमान मात्र हुँदै आएको छ । सो ओएस यसअघि स्मार्टफोनमा प्रयोग हुने समाचारहरु आएपनि अब भने नयाँ जानकारी आएको छ ।

ह्वावेले आफ्नो पहिलो ओएस होंगमेंग पहिलो पटक स्मार्ट टिभीमा प्रयोग गर्ने भएको छ । कम्पनीले अनर स्मार्ट टिभीको रुपमा कम्पनीको आफ्नै ओएसका साथमा लन्च गरिने रिपोर्ट आएको हो ।

ह्वावेले सो टिभी अगस्टको शुरुवातमा लन्च गर्ने तयारी गरेको छ । अनर ब्राण्डका अध्यक्ष जाओ मिंगले कम्पनीले आगामी दिनमा इन्टरनेट कनेक्टेड डिभाइसहरु लन्च गर्ने र त्यसको हबको रुपमा अगाडि जाने बताएथिए । उनले सो स्मार्ट टिभीमा कुन ओएस प्रयोग हुनेछ भन्ने जानकारी दिएनन् ।

तर कम्पनीले होंगमेंग ओएसलाई एन्ड्रोयड एप्लिकेसनहरुसँग कम्प्याटिबल हुनेगरि सन् २०१२ देखि नै काम गरिरहेको छ ।
ह्वावेले आफ्नो ओएस यो वर्ष नै वा अर्को वर्षको शुरुवातमा लन्च गरिने अपेक्षा गरेको छ ।

चीनमा टिभी हेर्ने दर्शकहरुको संख्या दिनप्रतिदिन घटिरहेको छ । औसत दैनिक टिभी प्रयोगकर्ताहरु ७० प्रतिशतबाट घटेर ३० प्रतिशत पुगिसकेका छन भने टिभी उत्पादकहरुले लगातार घाटा बेहोरिरहेका छन् ।

ह्वावेले भने आफ्नो नयाँ स्मार्ट टिभीले यूजरहरुको ध्यान उनीहरुको मोबाइल फोनबाट हटाउन सहयोग गर्ने अपेक्षा गरेको छ ।