Technology Khabar २ श्रावण २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । विगत एक सातादेखि विश्वभर नयाँ मोबाइल एपको चर्चा भईरहेको छ । मानिसहरुको अनुहार भविश्यमा कस्तो हुन्छ भनेर देखाउने सो फेसएप(FaceApp) नामक मोबाइल एप विश्वभर धेरैले प्रयोग गरिरहेका छन् । यो एप अहिले प्रयोगकर्ताहरुमाझ भाइरल भएको छ ।
नेपालमा पनि यो फेस एप ट्विटरमा ट्रेन्डिंगमा माथिल्लो सूचीमा रहेको छ । यसले मानिसहरुको उमेरअनुसार भविश्यमा कस्तो देखिन्छ भनेर तस्विरहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सको मद्धतले देखाउने गर्दछ । तर यो एपले मानिसहरुलाई बुढो देखाउने मात्र नभई युवामा कस्तो थियो भनेर समेत देखाउने गर्दछ ।
तर यो एपले मानिसहरुको व्यक्तिगत जानकारीहरु चोरिरहेको आरोप लागेको छ । प्रयोगकर्ताहरुले आफू कस्तो देखिन्छ भनेर प्रयोग गर्ने फोटोमार्फत फेसएपले स्मार्टफोनमा भएका अन्य तस्विरहरु तथा भिडियोहरुसम्म पनि अनधिकृत पहुँच पाएको भन्दै आरोप लागेको छ ।
एक सातादेखि विश्वभर निकै चर्चामा रहेको यो एप हलिउडका कलाकारहरुले प्रयोग गरेपछि भाइरल भएको हो । यो एप अहिले एप्पलको एप स्टोरमा टप फ्री एपको सूचीमा रहेको छ ।
तर यसको प्रयोग बढेसँग शुरु भएको प्राइभेसीको विवादले यो एपलाई विवादित बनाएको छ । रसियाको वायरलेस ल्याब कम्पनीद्धारा निर्मित यो एपले मानिसहरुको जानकारी रसियामा स्टोर गर्ने आरोप लागेसँगै यसमा छानबिन गर्नुपर्ने आवाज उठेको छ । सो एपमा भएको एउटा प्राइभेसीको विषय जसमा तपाईँको सबै फोटोहरु अपलोड हुनेछ भन्ने विषयले गर्दा यसमा छानबिन हुनुपर्ने आवाज आएको छ ।
कतिपय एप डेभलपरहरुले फेसएपले स्मार्टफोनको क्यामरासम्म पहुँच बनाएको र स्मार्टफोनमा स्टोर भएका फोटोहरु समेत सो एपले लिएको आरोप लगाएका छन् । उनीहरुले सो तस्विरहरु रसियन सरकारले उपयोग गर्ने गरि सो एपलाई बनाएको आरोप पनि लगाउँदै आएका छन् । यदि प्रयोगकर्ताहरुले सो एपलाई अनुमति नदिँदा पनि स्मार्टफोन क्यामरा रोलसम्म पहुँच पाएको आरोप लागेको छ ।
तर कम्पनीले भने सो आरोपको खण्डन गर्दै आफूले कुनैपनि तस्विरहरु स्टोर नगर्ने दाबी गरेको छ ।
‘हाम्रो सर्भरहरुबाट अधिकांश तस्विरहरु अपलोड भएको मितिदेखि ४८ घण्टाभित्र डिलिट हुने गर्दछ,’ कम्पनीले भनेको छ । त्यसैगरि कम्पनीले अपलोड गरिएका फोटोहरु एपको परफरमेन्स र ट्राफिकको कारणले क्लाउडमा स्टोर हुने तर ती कुनैपनि डाटा रसियामा नजाने स्पष्ट पारेको छ । कम्पनीकाअनुसार क्लाउडमा अमेजन र गूगल क्लाउड प्रयोग गरिएको छ भने कम्पनीले यूजरको डाटाहरु थर्ड पार्टिलाई बिक्री नगरिने उल्लेख गरेको छ ।
यहि विषयलाई दिएर अमेरिकी संसदको माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमेर फेसएपले यूजरको डाटा लिने विषयलाई अनुसन्धान गर्न भनेका छन् ।
उनले तस्वीरहरुलाई एडिट गरेर वृद्ध वा तन्नेरी देखिएको बनाउने यो एप्सको यूजर्स प्राइभेसीको बारेमा एफबिआई र फेडरल ट्रेड कमिसनलाई अनुसन्धान गर्न अनुरोध गरेका हुन् ।उनको सो आग्रह अमेरिकमा हुने २०२० को राष्टपतिय चुनावमा डेमोक्र्याट साँसदहरुलाई सो एप प्रयोग नगर्न भनेसँगै आएको हो ।
फेसएपका विश्वभर ८ करोड प्रयोगकर्ताछन् ।
प्रकाशित: २ श्रावण २०७६, बिहीबार