इन्टरनेटको शुल्क महंगियो, आजदेखि थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क तिर्नुपर्ने

Technology Khabar १ श्रावण २०७६, बुधबार

इन्टरनेटको शुल्क महंगियो, आजदेखि थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क तिर्नुपर्ने
Classic Tech

काठमाडौं । इन्टरनेट सेवाग्राहीले साउन १ गते आजदेखि इन्टरनेटको शुल्क थप १३ प्रतिशत तिर्नुपर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आजदेखि इन्टरनेटको शुल्क बढाउने भएपछि सेवाग्राहीले थप शुल्क तिर्नुपर्ने भएको हो।

सरकारले इन्टरनेट सेवामा पनि दूरसञ्चार सेवा शुल्क लगाएपछि इन्टरनेट सेवा प्रदायकहरुले साउन १ देखि ग्राहकबाटै सो सेवा शुल्क उठाउने निर्णय गरेपछि सेवाग्राहीहरुले तिर्ने इन्टरनेट शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।

इन्टरनेट सेवा प्रदायक संघ आइस्पानका अध्यक्ष भोजराज भट्टले सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएपछि सो कर सेवाग्राहीबाट लिने बताए ।

‘हामीले शुल्क बढाएका होईनौं, सरकारले नै टिएससी १३ प्रतिशत थप गरेपछि सो रकम ग्राहकसँग लिएर सरकारको खातामा जम्मा गर्ने हो,’ अध्यक्ष भट्टले भने ।

उनले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने लगायतका धेरै सहमति भएकोमा सो सहमति पालना नहुँदा बाध्य भएर शुल्क बढाईएको जिकिर गरे ।

‘गत वर्षको साउनदेखि नै सो सेवा शुल्क लागेपनि हामीले १ वर्षसम्म इन्टरनेटको मूल्य बढाएनौं तर अब समायोजन गर्न नसक्ने अवस्था आएकोछ,’ उनले भने ।

भट्टकाअनुसार साउन १ देखि ग्राहकहरुलाई गरिने इन्टरनेटको बिलिंगमा सो दूरसञ्चार सेवा शुल्क जोडिएर आउनेछ ।

कति थप रकम तिर्नुपर्छ ग्राहकले ?

दूरसंचार सेवा शुल्कको रुपमा १३ प्रतिशत इन्टरनेटको मूल्य बढ्ने भनिएपछि समग्रमा भने करिब १५ प्रतिशत अतिरिक्त रकम ग्राहकहरुले तिर्नुपर्नेछ ।

सरकारले लगाएको १३ प्रतिशत रकम इन्टरनेटको सेवा शुल्कमा जोडिने छ भने त्यसपछिको रकममा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्नेछ । जसले गर्दा कुल १४.६९ प्रतिशत रकम ग्राहकहरुले थप तिर्नुपर्नेछ ।

उदाहरणको लागि यदि ग्राहकले १००० रुपैयाँ मासिक कर बाहेर इन्टरनेटको सेवा शुल्क तिरिरहेको छ भने अब त्यो १००० रुपैयाँमा थप दूरसञ्चार सेवा शुल्क जोडिनेछ ।

सो शुल्क जोडिँदा ११ सय ३० रुपैयाँ हुनेछ भने त्यसमा फेरी मूल्य अभिवृद्धि कर १३ प्रतिशत थप गर्नुपर्नेछ । र कुल रकम ग्राहकहरुको बिलमा १२ सय ७६ रुपैयाँ ६९ पैसा आउनेछ । यसरी ग्राहकहरुले करिब १५ प्रतिशत शुल्क वृद्धि भोग्नुपर्नेछ ।

तर आइस्पानका अध्यक्ष भट्टले भने १३ प्रतिशत सेवा शुल्क रकम बढेपनि त्यसभन्दा बाँकी रकम ग्राहकसँग नलिने दाबी गरेका छन्। ‘१३ प्रतिशत दूरसञ्चार सेवा शुल्कमा लाग्ने करिब २ प्रतिशत भ्याटको रकम भने सेवा प्रदायकहरुले नै सकेसम्म समायोजन गर्नेछौं,’ उनले स्पष्ट पारे ।

प्रकाशित: १ श्रावण २०७६, बुधबार

Comments are closed.

Loading...