अपटेड समाचार

भिडियो शेयरिंग एप टिकटकमा भिडियो बनाउँदै गर्दा भारतमा एक युवकको मृत्यु

काठमाडौं । पछिल्लो समयमा भिडियो शेयरिंग एप टिकटकमा अधिकांश मानिसहरु लागिरहेका छन् । अझ युवापुस्तामा भिडियो शेयरिंग एपमा अरुभन्दा फरक देखिने किसिमको भिडियो बनाउने भुत नै सवार भएको देखिन्छ । यस्ता किसिमका भिडियोहरु मानिसहरुले पनि मनपराउने हुँदा फरक तरिकाको भिडियो बनाउने होडबाजी हुन्छ ।

तर यस्तो होडबाजीले मानिसको ज्यान नै जान्छ भनेर पत्याउन मुस्किल हुन्छ । तर हालै भारतमा यस्तै भिडियो बनाउनेक्रममा एक युवकको मृत्यु भएको छ ।

भिडियो शेयरिंग एप टिकटकका लागि भिडियो बनाउनेक्रममा भारतको हैदराबादको बाहिरी क्षेत्रमा रहेको एक तालमा युवक खसेर उनको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार हैदराबादको मेडचल जिल्लाको दुलपल्ली तालमा बुधबार घट्ना भएको हो । ती युवाको पहिचान नरसिम्हाको रुपमा गराईएको छ । ती युवक आफ्ना साथी प्रसान्तको साथ पानीमा गएका थिए र फिल्मी गानाको धुनमा डान्स गर्न गर्न लागेको थिए । उनी एक्लै भिडियोको लागि पोज दिनेबेलामा उनको साथी भने सो भिडियो मोबाइलमा सुट गर्दै थिए ।

सोहि बेला नरसिम्हा नामक ती युवक अचानक चिप्लिएका थिए र तालमा डुबे । उनी डुबेको स्थान निकै गहिरो भएको र उनलाई पौडी खेल्न नआउने हुँदा उनको डु्बेर मृत्यु हुन पुग्यो । उनका साथीले मद्धतका लागि चिच्याईरहँदा पनि कोहि बचाउन नआएको बताईएको छ । मृतकको शव प्रहरीले बिहिबार बरामद गरेको छ ।