खल्तीबाटै अब डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

Technology Khabar २६ असार २०७६, बिहीबार

खल्तीबाटै अब डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं ।

काठमाडौं । शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

यो सेवाको सुरुवात सँगै खल्तीले एप तथा वेबसाईटमा ’शेयर’ नाम दिइएको एउटा नयाँ आईकन ल्याएको छ जहाँबाट केहि क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिनेछ ।

खल्तीले संचालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरोशेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ ।

यस्तो डिजिटल भुक्तानी सुविधाबाट डिम्याट तथा मेरोशेयर खातावालहरु लाभान्वित हुने खल्तीले विश्वास लिएको छ ।

खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने, ‘नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोशेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता छ । खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले मोबाईलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो । हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब डिम्याट तथा मेरोशेयर खातावालहरुको उक्त बोझ हटेर जानेछ ।’

अहिले तत्कालका लागि जम्मा छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । जसमा सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालहरुमाझ यो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ असार २०७६, बिहीबार

ताजा समाचार