अपटेड समाचार

नेपाल टेलिकमले सेवाग्राहीलाई प्राकृतिक विपद् सम्बन्धी पूर्वजानकारी निरन्तर दिने

काठमाडौं । वर्षायामको प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गरिरहेको छ ।

कम्पनीले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ ।

हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराइने कम्पनीले उल्लेख गरेकोछ ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ ।

यसका लागि टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ ।

विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश (Bulk SMS) मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

नेपाल टेलिकमले २०७२ सालको विनाशकारी भूकम्प पश्चात नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना संप्रेषण गर्ने कार्यमा भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।