नेट टिभीको ‘ओटिटि एप’ प्रभु टिभीले किन्दा विवाद उत्पन्न, नेट टिभीका सेवाग्राहीहरु समस्यामा

काठमाडौं । ओभर दि टप सेवा दिईरहेको नेट टिभी (NETTV) को ओटिटि/ मोबाइल एप प्रभु समूहले खरिद गरेको छ । नेट टिभीको एप मात्रै प्रभु ग्रुपअन्तरगत प्रभु टिभीले किनेको हो ।

प्रभु टिभीले नेट टिभीको ओटिटि एप खरिद गरेसँग नेटटिभीको ट्रेडमार्क अधिकार भएको दुई कम्पनीहरुबिच विवाद उत्पन्न भएको छ ।

नेटटिभीले ओटिटि सेवासँगै आईपिटिभी सेटटप बक्ससमेत उपलब्ध गराउँदै आएको छ, जसमध्ये नेटटिभी ओटिटि एप बिक्री भएसँगै विवाद उत्पन्न भएको हो ।

प्रभु टिभीले नेटटिभीलाई करिब ८ करोड रुपैयाँ खर्च गरेर किनेको बताईएको छ भने सो रकममा कम्पनीले नेटटिभीको ओटिटि एप सेवामात्र खरिद गरेको स्रोतको दाबी छ। (रकमको बारेमा स्वतन्त्र पुष्टि गर्न सकेनौं)

नेटटिभी ओटिटि सेवा बिक्री भएको तर सो सँग सम्बन्धित आईपिटिभी सेटटप बक्सको अधिकार भने दोस्रो कम्पनीसँग रहेपछि विवाद उत्पन्न भएको हो । तर एप मात्र संचालन गर्दै आएको न्यू आईटि भेन्चरले सो एपको सम्पूर्ण अधिकार प्रभु टिभीलाई बिक्रीगरेपछि समस्या आएको सो कम्पनीसम्बद्द स्रोतले बताएको छ ।

सो बारेमा अर्को साझेदार कम्पनी एनआईटिभी स्ट्रीम्ज प्रालिले भने नेटटिभी ओटिटि सेवा अर्थात सो एपबाट सम्पूर्ण डाटाहरु अर्को कम्पनी प्रभु टिभीमा स्थानान्तरण गरिएको जानकारी नै नभएको बताएको छ ।

एनआईटिभी स्ट्रीम्जले हालै सो एप प्रभु टिभीलाई बिक्री गरेर सम्पूर्ण सेवाग्राहीहरुको डाटा समेत बिक्री गरिएको हुँदा आईपिटिभी सेटटप बक्स प्रयोगकर्ताहरुले समस्या भोग्नुपरेको भन्दै आफ्ना ग्राहकहरुलाई सो बारेमा जानकारी गराउँदै माफी मागेको छ ।

एनआईटिभी स्ट्रीम प्रालिले सो समस्या समाधान गर्नका लागि छिट्टै आफ्नै छुट्टै ओटिटि एप लन्च गर्न लागिएको जानकारी समेत दिएको छ । कम्पनीले सेवाग्राहीलाई आफ्नो एप लन्च गर्ने अवधिसम्म धैर्य गरिदिनहुन समेत अनुरोध गरेको छ ।

एनआईटिभी स्ट्रीम कम्पनीले आफूले सो सहमति पालना गरेपनि अर्को साझेदार कम्पनी न्यू आईटि भेन्चर कर्पोरेसनले भद्र सहमति भंग गरेको गुनासो समेत गरेको छ । सो समभदारी भंग गरेर ओटिटि एप प्रभु टिभीलाई बिक्री गरेपछि समस्या उत्पन्न भएको थियो ।

अर्कोतर्फ ओटिटि एप मात्र खरिद गरेको प्रभु टिभी भने ठूलो लगानी गरेर एपमात्र किनिएको भन्दै समस्यामा परेको स्रोतको दाबी छ ।

नेटटिभीको आईपिटिभी सेटटप बक्स एउटा कम्पनीले बिक्री गरिरहेको थियो भने ओटिटि एपमा मोबाइल र वेब एपको सेवा अर्को कम्पनीले दिईरहेको थियो ।

‘अहिले प्रभु टिभीलाई न्यू आईटि भेन्चरले ओटिटि एपअन्तरगत मोबाइल र वेब एप मात्र बिक्री गरेको छ, त्यसैले दुबैतर्फका कम्पनीहरुबिच विवाद भएको छ भने ग्राहकहरु पनि मारमा परेका छन्,’ स्रोतले टेक्नोलोजी खबरसँग भन्यो।

स्रोतकाअनुसार यसको सबैभन्दा बढि समस्या वर्ल्डलिंक कम्यूनिकेसन्स र भायोनेट कम्यूनिकेसन्सलाई परेको छ किनकी यी दुबै इन्टरनेट सेवा प्रदायकहरुले यसमा लगानी गरेका छन र सेवा पनि यी आइएसपीहरुको इन्टरनेट सेवासँग बण्डलि‌ङ गरिएको छ ।

विकिपेडियाकाअनुसार नेटटिभी नेपाल पहिलो नेपाली मोबाइल ओटिटि आईपिटिभी एप हो जसलाई कमल अधिकारीको न्यू आईटि भेन्चर, जापान, वर्ल्डलिंक कम्यूनिकेसन्स र भायोनेट कम्यूनिकेसन्सले शुरु गरेका थिए भने नेटटिभी एनआईटिभी स्ट्रीम्ज प्रालिको सब्सिडरी भएको उल्लेख छ ।

कम्पनीका हाल ४ लाख मोबाइल एप प्रयोगकर्ताहरु छन भने ८५ हजार सेटटप बक्स प्रयोगकर्ताहरु छन् ।

यदि तपाईँले नेटटिभीको आधिकारीक वेबसाइट नेटटिभी डटकम डटएनपी (http://nettv.com.np/)मा गएर वेब लेखिएको स्थानमा क्लिक गर्नुभयो भने त्यहाँ नेटटिभी गो भन्ने नयाँ सेवा अंग्रेजीमा छिटै आउँदैछ भनेर लेखिएको नेटटिभी नेपालको वेबसाइट (https://web.nettvnepal.com.np/) देख्नुहुन्छ, जहाँ तपाईँले त्यसको अधिकार सम्पूर्णरुपमा न्यू आईटि भेन्चर कर्पोरेसनसँग मात्र रहेको पाउनुहुनेछ । नेटटिभी गो  एप  नयाँ  रुपमा  आउने  जानकारी  त्यहाँ  उल्लेख  छ । र त्यो वेबसाइटको पनि वेब एप सेवामा क्लिक गर्नुभयो भने प्रभु टिभीको वेबसाइटमा पुगिन्छ ।

न्यू आईटि भेन्चर कर्पोरेशन मल्टिनेशनल कम्पनी हो जसको स्थापना कमल अधिकारीले गरेका हुन भने हाल कम्पनीको अध्यक्षमा भवन भट्ट रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

Leave a Reply