अपटेड समाचार

नेपाल टेलिकमको केबुल चोरी गर्ने ३ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौंडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो ।

वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले नेपाल टेलिकम हात्तीगौंडा शाखाका गेटपाले प्याकुरेलको मिलेमतोमा ३ लाख रुपैयाँ मूल्य बराबरको सामग्री बिक्री वितरण गर्दैगर्दा पक्राउ गरिएको जानकारी दिए ।

‘चोरी गरेको तार पगालेर तामा बनाउने भएकाले गेटपालेले कवाडी काम गर्ने व्यक्तिको मिलेमतोमा तार काट्न लगाएको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।

प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, २ साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ ।

पक्राउ परेकालाई सोमवारै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्त प्रमुख प्रसाईंले बताए ।