Technology Khabar २३ असार २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । मोबाइल फोन चोरी हुने ठूलो समस्या हो । अझ छिमेकी मुलुक भारतमा त फोन चोरी हुने समस्या निकै हुने गरेको रिपोर्टहरु आईरहन्छन् ।
तपाईँले प्रयोग गर्ने साधारण मोबाइल फोन होस वा स्मार्टफोन, त्यसमा निकै महत्वपूर्ण जानकारी र डाटा हुन्छन् । तर चोरी भएको खण्डमा तपाईँसँग ती डाटा डिलिट गर्ने वा सो फोन फिर्ता लिने कोशिसको अप्सन मात्र हुन्छ ।
भारतमा यस्तो घट्नामा चोरीको मुद्धा दर्ता हुनेगरेपनि अधिकांश मामलामा एकपटक चोरी भएको फोन भेटिने आशा निकै न्यून हुन्छ ।
यहि विषयलाई ध्यानमा राखेर भारतीय सरकारले नयाँ टेक्नोलोजी लन्च गर्ने तयारी गरिरहेको छ जसले चोरी भएका मोबाइल फोनहरु ट्रयाक गर्ने काम गर्नेछ । यो ट्र्याकिंग आईएमईआई नम्बरमा आधारित हुनेछ, अर्थात चोरी गर्ने मानिसले तपाईँको स्मार्टफोनमा सिम झिकेको खण्डमा पनि यसलाई ट्र्याक गर्न सकिन्छ र यसको सर्भिस ब्लक गर्न सकिनेछ ।
सेन्टर फर डेभलपमेन्ट अफ टेलीमेटिक्स (C-DoT) ले यो टेक्नोलोजीलाई विकास गर्ने जिम्मा दिएको छ । रिपोर्टकाअनुसार सीडिओटीले यहि अगस्टमा सो प्रविधि लन्च गर्ने तयारी गरेको छ ।
डिपार्टमेन्ट अफ टेलिकमले मोबाइल फोन ट्र्याकिंग प्रोजेक्टको लागि सीडिओटीलाई छनौट गरेको थियो । यो प्रोजेक्टलाई भारतमा सेन्ट्रल इक्विपमेन्ट आईडेन्टिटी रजिस्टर अर्थात सीईआईआर (CEIR) भनिनेछ । यो प्रविधिको लागि सन् २०१७ जुलाईदेखि काम गरिरहेको बताईएको छ ।
सेन्ट्रल इक्विपमेन्ट आईडेन्टिटी रजिस्टरको लागि सरकारले भारु १५ करोड रुपैयाँ दिएको छ, जसले मोबाइल फोन चोरीलाई नियन्त्रण गर्ने प्रविधि विकास गर्नेछ ।
सेन्ट्रल इक्विपमेन्ट आईडेन्टिटी रजिस्टर सिस्टमको अन्तरगत चोरी भएका मोबाइल फोनको सबै सेवाहरु ब्लक गरिनेछ । यदि चोरी भएको मोबाइल फोनबाट सिम कार्ड निकालेर दोस्रो नेटवर्कको सिम कार्ड लगाएमा पनि सो फोन ब्लक हुनेछ । यसकोलागि पनि सो टेक्नोलोजीले काम गर्ने र त्यस मोबाइल फोनको सबै सेवाहरु ब्लक गर्न सकिने फीचर हुनेछ ।
भारतले ल्याउने सो टेक्नोलोजीबाट मोबाइल फोन ट्र्याकिंग मात्र नभएर सरकारी एजेन्सिहरुले अन्य कानूनत फोनलाई इन्टरसेप्सन पनि गर्न सक्नेछन् । उपभोक्ताका आवश्यकताअनुसार फोन इन्टरसेप्ट गर्न सकिने बताईएको छ । हाल यसको पाइलट प्राजेक्ट भारतको महाराष्ट्रमा संचालन भईरहेको छ।
यो टेक्नोलोजीका सबै मोबाइल अपरेटरहरुको आईएमईआई डाटाबेसलाई कनेक्ट गर्नेछ । यसको अर्थ सबै नेटवर्क अपरेटरहरुको लागि केन्द्रिय प्रणालीको रुपमा काम गर्नेछ । यस्तोमा मोबाइल अपरेटरहरुले ब्ल्याकलिस्ट गरिएको आईएमईआई नम्बर भएको मोबाइल फोनलाई अटो ट्र्याक गरेर ब्लक गर्न सक्नेछ । जसले गर्दा सो स्मार्टफोनले कुनै अन्य नेटवर्कका साथमा काम नगरोस् ।
यो सिस्टमले गर्दा भारतमा चोरी हुने मोबाइल फोनको संख्यामा कमी आउने अपेक्षा गरिएको छ ।
यो सिस्टम लागू भएपनि यसको अप्रत्यक्ष असर नेपालमा पनि पर्न सक्दछ । अहिले नेपालमा भारतबाट लुकिछिपी चोरी भएका स्मार्टफोनहरु निकै नै आउने गरेका छन् । यसले गर्दा ग्रे मार्केट बढ्नुका साथै बैध आयातमा कमी आएकोछ भने सरकारी राजस्वमा पनि असर परेको जानकारहरुले बताउँदै आएका छन् ।
यदि भारतमा सो सिस्टम संचालनमा भएमा त्यसले नेपालको मोबाइल बजार बढाउन पनि सकारात्मक भूमिका खेल्न सक्दछ । एजेन्सीका साथमा
प्रकाशित: २३ असार २०७६, सोमबार