अपटेड समाचार

ह्वावे टेक्नोलोजीजले सिजी टेलिकमलाई फोरजी उपकरण आपूर्ति गर्ने, १० अर्ब रुपैंयाँको सम्झौता

काठमाडौं । ह्वावेले चौधरी ग्रुपसँग ४जी फोन सेवाको लागि आवश्यक उपकरणहरु आपूर्ति गर्नको लागि सम्झौता गरेको छ ।

सिजीले आफ्नो सिजी टेलिकममार्फत आगामी दिनमा नेपालमा फोरजी सेवा संचालनको लागी आवश्यक पर्ने उपकरण ह्वावे टेक्नोलोजीजसँग खरिद गर्न लागेको सिजीका अध्यक्ष बिनोद चौधरीले जानकारी दिएका छन् । कम्पनीले १०० मिलियन डलर अर्थात १० अर्ब रुपैंयाँ बराबरको सम्झौता गरेको हो ।

उनले नेपालको मोबाइल फोन बजारमा तरंग ल्याउने उद्धेश्यले शुरुवाती चरणमा २५० मिलियन डलर लगानी गर्न खोजेको एक अन्तरवार्तामा बताएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । सिजीले फोरजी नेटवर्क बिस्तारको लागि सो रकम खर्च गर्ने बताईएको छ ।

सिजीले भारतमा रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जीयोको सेवा दिए जस्तै किसिमले दूरसंचार क्षेत्रमा सेवा बिस्तारको योजना लिएको छ ।

‘सिजीले भ्वाइस सर्भिस निशुल्क गर्दै डाटामा ध्यान दिने र अनलाइन पेमेन्टका साथै अन्य सेवाहरु समावेश गर्नेछ,’ उनले भने ।

नेपालका एक मात्र फोब्र्समा सूचीकृत मिलेनियर व्यवसायी चौधरीले वाईवाईसहित टेलिकम क्षेत्रमा पनि लगानी गरेका छन् ।

चौधरीको कम्पनीले ह्वावेसँग किनेको उपकरणहरु फोरजी सेवा बिस्तारको लागि प्रयोगमा आउनेछ भने पछि त्यसलाई ५जीमा स्तरोन्नति गरिनेछ ।

ह्वावेले सरकारी कम्पनीसँग नै काम गरिरहेको र अब हामीसँग काम गर्नेछ, उनले भने ।

पछिल्ला दिनहरुमा ह्वावे टेक्नोलोजीजले विश्वभर ५जी प्रविधिको लागि प्रमुख कम्पनीको रुपमा उपकरणहरु आपूर्ति गर्दै आएको छ । तर अमेरिकी सरकारले भने ह्वावेको उत्पादनहरु नकिन्न भन्दै प्रतिबन्धित सूचीमा समावेश गरेको छ ।

ह्वावेले भने आफ्ना उपकरणहरुमा कुनैपनि सेक्यूरिटी रिस्क नभएको दाबी गर्दै आएको छ ।

केहि समयअघि मात्रै सिजी ग्रुपले टर्कीको कम्पनी टर्कसेलसँगको साझोदारीमा लाइफसेल नामक कम्पनी संचालनमा ल्याएको थियो । सो कम्पनीले सिजीको लागि प्राविधिक तथा डिजाइन सेवाको लागि काम गर्ने बताईएको छ ।

चौधरीले चिनियाँ कम्पनीहरुसँगको सहकार्य गर्न कुनै समस्या नदेखिएको बताएका छन् ।

चौधरी ग्रुपअन्तरगतको सिजी टेलिकमले नेपालमा भने ग्रामिण दूरसंचारको मात्र लाइसेन्स लिएको छ ।कम्पनीले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको मन्त्रीपरिषदबाट सिधै निर्णय गराई पूर्वाधार बिना नै नेपालभर दूरसंचार सेवा संचालनको लाइसेन्स लिन निर्णय गराएको थियो ।

तर नेपाल दूरसंचार प्राधिकरणले भने सो कम्पनीको पूर्वाधार नभएको र पूर्वशर्तहरु अझै पालना नगरेको भन्दै दूरसंचार सेवाको यूनिफाइड लाइसेन्स दिएको छैन् ।