इन्फिनिटी ओ डिस्प्लेका साथमा ग्यालेक्सी एम ४० बजारमा, खरिद मूल्य ३६ हजार रुपैयाँ

Technology Khabar १५ असार २०७६, आईतवार

इन्फिनिटी ओ डिस्प्लेका साथमा ग्यालेक्सी एम ४० बजारमा, खरिद मूल्य ३६ हजार रुपैयाँ

काठमाडौं । सामसङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी एम४० (Galaxy M40) नेपाली बजारमा प्रस्तुत गरेको छ । खास गरी यो फोन प्रविधि प्रेमी पुस्ता तथा जेनेरेशन जीको लागि तयार पारिएको हो ।

ग्यालेक्सी एम ४०मा ६.३ इन्चको फूलएचडी प्लस इन्फिनिटी ओ डिस्प्ले शक्तिशाली स्नेपड्रयागन ६७५ अक्टाकोर प्रोसेसर तथा दमदार फिचरका साथ ट्रिपल रियर क्यामरा विद्यमान छन् । यो फोन एम १० र एम २० स्मार्टफोनमा ग्राहकहरुको उत्कृष्ट प्रतिक्रिया पछि बजारमा ल्याइएको कम्पनीले उल्लेख गरेको छ ।

“युवा पिढी तथा जेनेरेशन जीको लागि डिजाइन गरिएको ग्यालेक्सी एम सिरिज खास गरी नेपालकै लागि भनी तयार गरिएको हो । हामीलाई विश्वास छ कि सोचविचार गरी मोबाइल फोन खरिद गर्नुहुने नयाँ युवाहरु एम ४० बाट अझ बढी खुसी एवं सन्तुष्ट हुनुहुनेछ” सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी एम ४० १२००ः१ को कन्स्ट्रास्ट रेसियो तथा अन स्क्रीन साउन्ड प्रविधिको साथ उपलब्ध छ । यो केवल ७.९ मिलिमीटर पातलो फोन हो, जसको तौल केवल १६८ ग्राम छ । ग्यालेक्सी एम ४० गोरिल्ला ग्लास ३ को साथ उपलब्ध छ । ग्यालेक्सी एम ४० स्न्यापड्र्यागन ६७५ प्रोसेसरको साथ उपलब्ध छ जसकोे उत्कृष्ट नेटवर्कले प्रयोगकर्तालाई जीवन्त अनुभव प्रदान गर्दछ साथै यसले फोनलाई मल्टिटास्किङ्ग बनाइदिन्छ र व्याट्री पनि कम खपत हुनजाने कम्पनीको भनाई छ ।

नयाँ ग्यालेक्सी एम ४० मा आफ्ना महत्वपूर्ण क्षणहरुलाई क्याप्चर गर्नको लागि आफ्नो श्रेणीमा सबैभन्दा उत्कृष्ट ट्रिपल रियर क्यामराको साथ डिजाइन गरिएको छ । ग्यालेक्सी एम ४० को ट्रिपल क्यामरा सेटपमा १.७ अपर्चर तथा एआई सीन अप्टिमाइजरको साथ ३२ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ, जसमा प्रयोगकर्ताले दिनमा वा रातमा शानदार फोटो खिच्न सक्नेछन् ।

यसमा ५ मेगापिक्सलको डेप्थ क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि राखिएको छ । आजका युवा पिँढीहरु भिडियो मार्फत कुराकानी गर्न मनपराउने हुँदा एम ४० मा विभिन्न भिडियो फिचरहरु जस्तैः भिडियो रेकर्डिङ्ग, स्लोमो तथा हाइपरल्याप्स रहेका छन् ।

सो स्मार्टफोनमा ३,५०० एमएएचको व्याट्रि राखिएको छ भने १५ वाट यूएसवी टाइप सी फास्ट चार्जिङ्ग फिचर राखिएको छ जसले आम चार्जिङ्ग प्रक्रिया भन्दा ३ गुणा चाँडै चार्ज हुन्छ ।

ग्यालेक्सी एम ४० को नेपाली बजारमा खरिद मूल्य ३६ हजार १९० रुपैयाँ तोकिएको छ । यो फोन १५ आषाढ, २०७६ देखि मिडनाइट ब्लु तथा सिवाटर ब्लु ग्रेडिएन्ट कलरमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित: १५ असार २०७६, आईतवार

Comments are closed.

Loading...