नेपाल टेलिकमले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई दियो एण्ड्रोइड स्मार्टफोन

Technology Khabar १३ असार २०७६, शुक्रबार

नेपाल टेलिकमले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई दियो एण्ड्रोइड स्मार्टफोन
NTC_Advt

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत असार १३ गते सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पु¥याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ ।

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे ।

सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पु¥याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले टेलिकमको सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मोबाइल प्राप्त गर्ने पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै मोबाइलबाट प्रयोग गर्न सकिने हुँदा निकै हौसला मिलेको बताए । पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकाय तर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् ।

‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

प्रकाशित: १३ असार २०७६, शुक्रबार