एमडिएमएम टेण्डर- मोबिलनलाई अयोग्यताको पत्र, नूमेराले डाटा लीकमा ‘क्लिन चीट’ पाएको खुलासा

Technology Khabar १० असार २०७६, मंगलवार

एमडिएमएम टेण्डर- मोबिलनलाई अयोग्यताको पत्र, नूमेराले डाटा लीकमा ‘क्लिन चीट’ पाएको खुलासा

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) संचालनको लागि टेण्डरमा अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका दुई कम्पनीमध्ये एक मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको ज्वाइन्ट भेन्चरलाई नेपाल दूरसंचार प्राधिकरणले टेण्डर अयोग्य ठहर गरेको पत्र पठाएको छ ।

यसअघि प्राधिकरणले अर्को प्रतिस्पर्धी कम्पनी नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कम्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरलाई सो टेण्डर अवार्ड गरेको थियो । टेण्डर अवार्ड गरेर नूमेरालाई लेटर अफ इन्टेन्ट दिएपछि मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस)को टेण्डर प्रकृयामा सहभागी कम्पनी मोबिलनले विवाद गरेको थियो ।

मोबिलियनले आफू आर्थिक र वित्तीय प्रकृयामा उत्कृष्ट भएको भएपनि नूमेरालाई सो टेण्डर दिएको भन्दै विरोध गरेपछि सो विषय विवादमा आएको हो । मोबिलियनले आफूले प्रतिस्पर्धी नूमेराको भन्दा करिब ४ लाख २८ हजार अमेरिकी डलर न्यून रकम प्रस्ताव गरेको तथा प्राविधिकरुपमा पनि आफू उत्कृष्ट भएको दाबी गर्दै आएको छ ।

प्राधिकरणले भने मोबिलियन सो टेण्डर प्रकृयामा नै अयोग्य भएपछि अर्को कम्पनी नूमेरालाई एमडिएमएसको जिम्मा दिएको बताउँदै आएको छ । प्राधिकरणले मोबिलनलाई नेपाली मोबाइल अपरेटरसँगको सहकार्यमा काम गरिरहेको भन्दै अयोग्य ठहर गरेको हो । प्राधिकरणका एक उच्च अधिकारीले मोबिलन सो टेण्डर प्रकृयामा अयोग्य देखिएको र उसको दाबी उचित नहुने बताए ।

‘मोबिलनले विवाद गर्न खोजेको मात्र हो, हामीले उसको बारेमा परामर्शदातामार्फत अध्ययन गराउँदा सो कम्पनीको स्वार्थ बाझिने देखियो, त्यसैले उ अयोग्य ठहर भएको हो,’ ती अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनले मोबिलनलाई अयोग्य भएको र कम्पनीको दाबी नपुग्ने बारेमा पत्र पठाईएको जानकारी दिए ।

सो पत्रमा मोबिलनले टेण्डर अवार्डको बारेमा पुनरावलोकनको लागि दिएको निवेदनको जवाफसहित अयोग्य ठहर भएको जानकारी दिईएको उनले दाबी गरे ।

‘पत्रमा इन्फर्मेशन टू कन्सल्ट्यान्ट (आईटिसी) को ३.१ बुँदाअनुसार अयोग्य भएको लेखिएको छ,’ ती अधिकारीले भने ।

सो बुँदामा ‘कन्फ्लिक्ट अफ इन्ट्ररेस्ट’ देखिने प्रस्तावकलाई टेण्डर अवार्ड गर्न नहुने उल्लेख रहेको उनले जानकारी दिए ।

मोबिलनले नेपाली मोबाइल अपरेटर एनसेलको सिम बितरक कम्पनीको रुपमा काम गर्दै आएको छ भने ग्रिन भेन्चर्सले प्राधिकरणमार्फत नेपालमा मोबाइल फोनको बजार सर्वेक्षण गर्दै आएको प्राधिकरणको भनाई छ ।

मोबिलनले सो टेण्डरको आवेदनका साथमा नै आफू एनसेलसँग काम गरिरहेको जानकारी दिएको थियो । यसअघि मोबिलनले आफू योग्य हुँदाहुँदै अर्को विवादित कम्पनीलाई एमडिएमएसको काम दिएको भन्दै विरोध गर्दै आएको छ ।

मोबिलनका प्रतिनिधीले भने आफू एनसेलसँग आबद्ध रहेको पत्र नै टेण्डरको कागतपत्रसाथ बुझाएको हुँदा अहिले अन्तिममा टेण्डर नदिने काम भएको दाबी गरे।

‘हामीले एनसेलसँग काम गरिरहेको पत्र नै दिएका थियौं, यहि हामी अयोग्य थियौं भने शुरुमा नै हामीलाई टेण्डरबाट हटाउनुपथ्र्यो तर अहिले अर्को कम्पनीलाई दिन त्यस्तो आरोप लगाईयो,’ ती प्रतिनिधिले भने ।

उता टेण्डर अवार्ड पाएको नूमेरा मलेशियामा डाटा लीक गर्ने मामलामा संलग्न रहेको र एमडिएमएसको जस्तै प्रणाली संचालनमा कमजोरी भेटिएपछि कारबाही भएको कम्पनी रहेको बताईँदै आएको छ । सो कम्पनीले मलेशियामा एमडिएमएसको जस्तै प्रणाली संचालन गर्दै आएकोमा सो प्रणालीमार्फत डाटा लीक भएको र सो डाटा डार्क वेभमा गएको बताईएको छ।

त्यसलाई मलेशियाको सबैभन्दा ठूलो डाटालीक मानिँदै आएको छ जसमा १२ टेलिकम कम्पनीहरुको प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी लीक भएको थियो । सो लीक सन् २०१४ देखि २०१५ सम्मको जानकारीहरु थियो ।

डाटा लीक भएको सिस्टम ‘पब्लिक सेलुलर ब्लकिंग सर्भिस’को विकास र संचालन नूमेराले गर्दै आएको थियो ।

तर सो कम्पनी डाटालीकमा संलग्न नभएको भेटिएको छ । नूमेरालाई मलेशियाको प्रहरीले अप्रिलमा सो डाटा लीक घट्नामा संस्थाको आबद्धता नभएको र सो कम्पनीका स्टाफहरुको संलग्नता नभएको भन्दै ‘क्लिन चीट’ दिएको छ ।

हेड अफ लिगल डिभिजन, इन्स्पेक्टर जनरल अफ पुलिस सेक्रेटरियट(एडमिनिस्ट्रेशन) रोयल मलेशिया पुलिसले दिएको पत्रमा नूमेराको संलग्नता नभेटिएको उल्लेख छ ।

अगस्ट २६ तारिखमा मलेशियन प्रहरीले दिएको पत्रमा साइबर एण्ड मल्टिमिडिया क्राइम इन्भेस्टिगेसन डिभिजन, कमर्शीयल क्राइम इन्टेस्टिगेसन डिपार्टमेन्टले सो विषयमा छानबिन गरेको र त्यसमा सो कम्पनी तथा कम्पनीका कर्मचारीहरुको संलग्नता नभेटिएको उल्लेख छ ।

यो पनि हेर्नुस् –

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने मोबिलनको दाबी

TK Viber

प्रकाशित: १० असार २०७६, मंगलवार

Loading...