दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षका लागि १२ जनाले दिए आवेदन

Technology Khabar ९ असार २०७६, सोमबार

दूरसंचार प्राधिकरणको कार्यकारी अध्यक्षका लागि १२ जनाले दिए आवेदन

अनुज राज ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि माग गरेको सूचनाअनुसार असार ९ गते अन्तिम दिनसम्म १२ जनाको आवेदन परेको हो ।

प्राधिकरणको कार्यकारी अध्यक्ष पदका लागि ईच्छुकहरुमा हालका कार्यबाहक अध्यक्ष पुरुषोत्तम प्रसाद खनालसहित अन्य ११ जनाले आवेदन दिएका छन् ।

अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा देव कुमार यादव, अनिल कुमार झा, दिपक राज जोशी, रोहित रौनियार, डा. नन्दबिक्रम अधिकारी, गोबिन्द प्रसाद दाहाल, मधुसुधन कर्माचार्य, डिल्ली प्रसाद चौधरी, प्रकाश बराल, सुरेश कुमार कार्की र बुद्धिप्रसाद आचार्य रहेका छन् ।

यसमध्ये आचार्य, यादव, कर्माचार्य नेपाल टेलिकमका पूर्व कर्मचारी हुन भने अनिल कुमार झा जनक शिक्षा सामाग्रीका पूर्व महाप्रबन्धक हुन् । डा अधिकारी त्रिभुवन विश्वविद्यालयमा शिक्षण पेसामा आबद्ध छन भने रौनियार एनसेलका पूर्व कर्मचारी भएको बताईएको छ ।

आचार्य टेलिकमका पूर्व प्रबन्ध निर्देशक हुन् । त्यस्तै कार्की हाल रेडियो नेपालमा कार्यकारी अध्यक्ष पदमा कार्यरत छन् । दाहाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत छन् ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले आवेदनहरुको अध्ययन र छानबिनपछि सूची प्रकाशित हुने जानकारी दिए ।

‘छनौट समितिले आवेदकहरुको न्यूनतम योग्यता र अनुभवको अध्ययन र छानबिन गर्छ र त्यसबाट सर्टलिस्ट सार्वजनिक हुन्छ, त्यसपछि थप प्रकृया अगाडि बढ्ने हो,’ प्रवक्ता तिवारीले टेक्नोलोजीखबरलाई जानकारी दिए ।

मन्त्रालयले जेठ २७ गते सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष पदका लागि ३० बर्षदेखि ६५ बर्ष भित्रका व्यक्तिले आवेदन दिन पाउने उमेरहद तोकिएको छ ।

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानूनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने पनि न्यूनतम योग्यता तोकेको छ।

प्राधिकरणको अध्यक्ष हुन सम्बन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव हासिल गरेको हुनुपर्ने, कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएकाले मात्र आवेदन बुझाउन सक्ने मन्त्रालयको विज्ञापनमा उल्लेख छ ।

अध्यक्ष छनौटका लागि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गको संयोजकत्वमा ३ सदस्यिय छनौट तथा सिफारिस समिती गठन गरिएको छ, जसले नयाँ अध्यक्ष खुला प्रतिस्पर्धामार्फत छनौट गर्नेछ ।

सो समितीले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्षको लागि खुला प्रतिस्पर्धामार्फत सरकारलाई सिफारिस गर्नेछ । त्यस्तो सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

सोहि सिफारिस भएको नाममध्येबाट मन्त्रिपरिषदले नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रावधान छ ।

दूरसंचार ऐनमा के छ ?

प्राधिकरणका अध्यक्ष चयन गर्न दूरसंचार ऐन २०५३ अनुसार सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बन्नेछ, जसमा एकजना विज्ञसहित मन्त्रालयका सहसचिव सदस्य सचिवको रुपमा रहनेछन् ।

दूरसंचार ऐन २०५३ को दफा ५ मा प्राधिकरणको गठनको बारेमा उल्लेख छ । सो दफाको उपदफा १ मा ‘प्राधिकरणमा दूरसंचार सेवासंग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा तोकिए बमोजिम योग्यता र अनुभव भएका अध्यक्ष सहित पाँचजना सदस्यहरु रहनेछन्,’ भन्ने उल्लेख छ ।

त्यस्तै सोही दफाको उपदफा २ मा प्राधिकरणको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको विषयमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न नेपाल सरकारले सम्बद्ध क्षेत्रका विज्ञहरू समेत रहेको एक समिति गठन गर्ने र सो समितिको सिफारिशमा नेपाल सरकारले अध्यक्ष तथा सदस्यको नियुक्ति गर्नेछ ।

TK Viber

प्रकाशित: ९ असार २०७६, सोमबार

Loading...