विदेशी टिभी च्यानल २ दिन बन्द, क्लिनफिड लागू गर्न नसकिने केबल टेलिभिजन महास‌ंघको भनाई

Technology Khabar ९ असार २०७६, सोमबार

विदेशी टिभी च्यानल २ दिन बन्द, क्लिनफिड लागू गर्न नसकिने केबल टेलिभिजन महास‌ंघको भनाई

काठमाडौं । विदेशी टेलिभिजन च्यानलहरु सोमबार दिउँसो ३ बजेदेखि नेपालमा बन्द गरिएको छ। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले सोमबार र मंगलबार लगातार २ दिन विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्ने जानकारी दिएको छ ।

सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन महासंघले विदेशी च्यानलहरु नै बन्द गरेको हो ।

महासंघले केहिदिनअघि मात्रै विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्ने गरी सूचना जारी गरेको थियो । तर सरकारले कुनै टुङ्गो नदिएपछि सोमबार ३ बजेबाट टेलिभिजन च्यानलहरु बन्द गरेको संघले जानकारी दिएको छ । विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ।

सरकारले विज्ञापन ऐनमार्फत विज्ञापन रहित विदेशी च्यानल मात्रै चलाउन पाईने उल्लेख गरेको छ । तर त्यसले नेपालको केबल टिभी व्यवसायमा आर्थिक क्षती हुने र विज्ञापन रहित च्यानलहरु विदेशी कम्पनीहरुले नेपालमा चलाउन नमान्ने हुनाले केबल च्यानलहरु बन्द गरिएको महासंघको भनाई छ ।

महासंघका अध्यक्ष सुधिर पराजुलीले चोरबाटोबाट सरकारले विज्ञापन नियमन ऐनमा क्लिनफिडको प्रावधान राखेको आरोप लगाउँदै यो लागू भए केबल टिभी सबै बन्द हुने दाबी गरे ।

‘यसलाई राष्ट्रिय प्रशारण ऐनमा ल्याउनु पर्ने थियो तर अहिले विज्ञापन ऐनमार्फत ल्याईयो, यो कसैको विरोधमा गरेको होईन्, क्लिनफिड लागू हुँदा के हुन्छ भनेर देखाउन खोजेको हो,’ अध्यक्ष पराजुलीले भने ।

यसअघि नै ईन्डियन ब्रोडकास्ट फोरम (आईबीएफ) ले नेपालमा विज्ञापनरहित टेलिभिजन च्यानलहरु चलाउन आर्थिक रुपले नसकिने तथा भन्दै सुचना तथा संचार प्रविधि मन्त्रालयमा पत्र पठाएको बताईएको छ ।

अध्यक्ष पराजुलीकाअनुसार भारतीय च्यानलहरुले नेपालमा क्लिनफिड दिन नसक्ने यसअघि नै मन्त्रालयलाई जानकारी दिईसकेका छन भने क्लिनफिड लागू भए नेपालमा च्यानल बन्द गर्ने बताएका छन् ।

‘सरकारले क्लिनफिड लागू गरे हामी लाइसेन्स फिर्ता गर्ने र सरकारलाई तालाचावी बुझाउँछौं,’ उनले भने ।

हाल नेपालमा प्रसारित च्यानलहरु मध्ये करिब ८५ प्रतिशत च्यानलहरु विदेशी छन्। विदेशी टिभी च्यानलहरुमध्ये करिब ९५ प्रतिशत च्यानलहरु भारतीय रहेका छन भने ५ प्रतिशत च्यानल अन्य देशहरुबाट प्रशारण हुने गरेको बताईएको छ ।

सरकारले विज्ञापनमार्फत पनि नेपालबाट करोडौं रुपैयाँ बाहिरिएको भन्दै क्लिनफिडको नियम ल्याउने गरी विज्ञापन नियमन ऐन संसदमा छलफलको क्रममा छ ।

नेपालमा १२ वटा संस्थाहरुले डिजिटल केबल टिभी सेवा विभिन्न अपरेटरहरुमार्फत दिईरहेका छन । केबल टिभी व्यवसायको क्षेत्रमा करिब २५ अर्बको लगानी भएको छ भने ५० हजार भन्दा बढिले रोजगारी पाएका छन् ।

प्रकाशित: ९ असार २०७६, सोमबार

Comments are closed.

Loading...