आइफोन उत्पादन चीनबाट बाहिर सार्न एप्पललाई फक्सकनको सुझाब

Technology Khabar ९ असार २०७६, सोमबार

आइफोन उत्पादन चीनबाट बाहिर सार्न एप्पललाई फक्सकनको सुझाब

काठमाडौं ।

काठमाडौं । आइफोन एसेम्बल गर्ने ताइवानी कम्पनी फक्सकनले एप्पललाई आइफोन उत्पादन कारखानालाई चीनबाट बाहिर सार्न अनुरोध गरेको छ ।

फक्सकोनका संस्थापक टेरी गोले आइफोनको उत्पादनलाई चीनबाट बाहिर सार्न एप्पललाई अभिप्रेरित गरिरहेको बताएका छन् ।

कम्पनीको सबैभन्दा धेरै शेयर भएका कम्पनीका संस्थापक गोले भने, ‘मैले चीनबाट ताइवानमा सर्नका लागि एप्पललाई भनेको छु । मेरो विचारमा यो निकै सम्भव छ ।’

गोले फक्सकनको अध्यक्ष पदबाट राजिनामा दिएर ताइवानको राष्ट्रपति पदको चुनावमा भिड्ने घोषणा गरेका छन् । आफु राष्ट्रपतिमा लड्ने भएकाले पनि उनले एप्पललाई चीनबाट ताइवानमा सर्न प्रोत्साहित गरिरहेको बताईएको छ ।

यसअघि पनि एप्पलले आफ्नो उत्पादनलाई चीनबाट बाहिर लैजान लागेको जानकारी आएको थियो । कम्पनीले करिब १५ देखि ३० प्रतिशत प्रडक्सन चीनभन्दा बाहिर लानसक्ने रिपोर्ट आएको थियो ।

फक्सकनले अमेरिकी आइफोनलाई चीनबाहिर सार्न सकिने संभावना रहेको सुझाव दिएको थियो ।

चीन र अमेरिकाबीच पछिल्लो समयमा व्यापार युद्ध चर्किरहेको छ । चीनका थप ३ खर्ब डलरका आयातित सामानमा कर लगाउने चेतावनी ट्रम्प प्रशासनले दिइरहेको छ । साथै चिनियाँ टेलिकम्यूनिकेसन्स जाएन्ट हुवावेलाई समेत अमेरिकाले कालोसूचिमा राखेर प्रतिबन्धित गरेको छ ।

चीन र अमेरिका बीचको व्यापार तनावले जस्तो सुकै रुप लिएपनि चीनबाट विस्तारै बाहिर निस्किने योजना एप्पलको छ ।एप्पलले अहिलेको लागि चीनबाट आउने आफ्ना उत्पादनहरुमा थप २५ प्रतिशत कर लिनु उपयुक्त नहुने भन्दै अमेरिकी व्यापार प्रतिनिधीलाई पत्र लेखेको छ । थप २५ प्रतिशत कर लगाउँदा प्रतिस्पर्धीको भन्दा उत्पादन महंगो हुनेहुँदा बजार प्रतिस्पर्धा गर्न नसकिने बताएको छ ।

केबल एउटा देशमा मात्र उत्पादनलाई केन्द्रित गर्नुको जोखिमलाई मध्यनजर गर्दै एप्पलले यस्तो योजना बनाएको बताइएको छ । एजेन्सी

प्रकाशित: ९ असार २०७६, सोमबार