आगामी आवमा ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने टेलिकमको लक्ष्य, बजार हिस्सा ६० प्रतिशत पुर्याउने

Technology Khabar ८ असार २०७६, आईतवार

आगामी आवमा ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने टेलिकमको लक्ष्य, बजार हिस्सा ६० प्रतिशत पुर्याउने
फाइल

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले आगामी आर्थिक वर्ष २०७६/७७ मा करिब ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

आगामी आव २०७६/७७ को बजेटमार्फत विभिन्न नयाँ कार्यक्रम थप गरी आफ्ना आम्दानीलाई वृद्धि गरी ४७ अर्ब ७२ करोड १ लाख रुपैयाँ पुर्याउने टेलिकमले योजना लिएको हो । टेलिकमले आव २०७५/०७६ को संशोधित संशोधित आय अनुमान ४३ अर्ब ६६ करोड २८ लाख रुपैंयामा ९ दशमलव २९ प्रतिशतले वृद्धि गरी आगामी आवमा ४७ अर्ब ७२ करोड भन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको हो ।

सरकारी स्वामित्वको कम्पनी टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा अधिकांश वित्तीय सूचकहरु नकारात्मक हुने आँकलन गरेको छ । आव २०७४/७५ को तुलनामा व्याज कर र ह्रास कट्टी अघिको आम्दानी ६ दशमलव ९८ प्रतिशत ऋणात्मक, आम्दानी ३ दशमलब ५५ प्रतिशत ऋणात्मक, नाफामा ३९ दशमलब ६६ प्रतिशतको कमी र कुल सम्पतिको प्रतिफल वृद्धि ५ दशमलव ७३ प्रतिशतले कमी आउने टेलिकमको अनुमान छ ।

त्यसलाई सुधार गर्दै आगामी आवमा व्याज कर र ह्रास कट्टीपछिको आम्दानी ५ दशमलव ५७ प्रतिशत, आम्दानी ९ दशमलब २३ प्रतिशत, नाफा ९ दशमलब २३ प्रतिशत र कुल सम्पतिको प्रतिफल वृद्धि सुन्य दशमलव ०१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य टेलिकमले लिएको छ । त्यसैगरी टेलिकमले २०७५/७६ मा ग्राहकको संख्या अघिल्लो आवको तुलनामा १३ दशमलव ६४ प्रतिशत वृद्धि हुने र आगामी आवमा १५ दशमलव ११ प्रतिशत बढ्ने जनाएको छ ।

साथै कम्पनिको बजार हिस्सा हालको ५४ प्रतिशतबाट वृद्धि गरी आगामीआवमा ६० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ ।

टेलिकमले चालु आवसम्मको संशोधित विवरण अनुसार कम्पनीको ग्राहक आधार कुल दुई करोड २८ लाख ८२ हजार हुने उल्लेख गरेको छ । कम्पनीले प्रस्तावित आयोजनाहरुको कार्यान्वयन पश्चात आगामी आवमा थप ३४ लाख ५६ हजार (लाईन ठाउँसारी बाहेक) लाइन वितरण भई दुई करोड ६३ लाख ३९ हजार ग्राहक आधार पुर्याउने लक्ष्य राखेको छ ।

त्यसका लागि टेलिकमले आगामी आवको लागि फोरजी विस्तार, मध्यपहाडी क्षेत्रमा अप्टीकल फाइबर विस्तार, आईपीटिभीसहितको फाइबर टु दि होम सेवा विस्तार, मोवाइल फाइनान्सियल सर्भिस लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । टेलिकमले ‘डिजिटल नेपाल’ को अवधारणालाई सार्थक बनाउनका साथै कम्पनीलाई दूरसञ्चार बजारमा अग्रणी संस्थाको रुपमा कायम राख्नको लागि भन्दै आगामी आवमा अत्याधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी देशव्यापी रुपमा वायरलेस ब्रोडब्याण्ड सहितको उच्च गतिको इन्टरनेट, टेलिफोन तथा मोवाइल सेवा उपलब्ध गराउने जनाएको छ । कम्पनीले देशव्यापी अप्टिकल फाइबर नेटवर्क विस्तारमा पनि जोड दिने भएको छ ।

साथै कम्पनीले उपलब्ध गराउने सबै सेवाहरुमा नेपाल दुरसञ्चार प्राधिकरणले तोकेको मापदण्डअनुसारको प्रमुख कार्यसम्पादन सूचक कायम राख्ने जनाएको छ । त्यसका लागि उपभोक्ताको चाहनाअनुसार वायरलेस सेवा जीएसएमतर्फ फोरजी/एलटीईमार्फत र वायरलाइन सेवा मार्फत आईएमएस(नेक्स जेनेरेसन) प्रविधिमार्फत अप्टिकल फाइबर नेटवर्क/एफटीटीएचको माध्यमद्धारा स्तरिय र भरपर्दो ब्रोडब्याण्ड इन्टरनेट प्रदान गर्ने नीति टेलिकमको छ ।

यसबाहेक टेलिकमले दूरसञ्चार सेवाको प्रतिस्पर्धात्मक मूल्य कायम गरी सुपथ मूल्यमा देशका सबै ठाउँमा दूरसञ्चार सेवा उपलब्ध गराउने, विश्वव्यापी रुपमा लोकप्रिय भइरहेको मोबाइल फाइनान्सीयल सर्भिस सुरुवात गर्ने निति लिएको छ ।

साथै नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण तथा कम्पनीको सहकार्यमा दूरसञ्चार पूर्वाधार र विकास कम्पनी स्थापना गरी दूरसञ्चार पूर्वाधारको विकास र सह–प्रयोग गर्ने व्यवस्था गर्ने, नीति निर्धारण गरि अव्यवस्थित केबललाई व्यवस्थित गर्ने कार्यक्रम तयार गरी लागु गर्ने योजना टेलिकमले तयार पारेको छ ।

प्रकाशित: ८ असार २०७६, आईतवार

Comments are closed.

Loading...