ह्वाट्सएपले बल्क मेसेज पठाउनेलाई कानूनी कारबाही गर्ने, दूरुपयोग गरेमा एक्सन

काठमाडौं । मेसेजिंग प्लेटफर्म ह्वाट्सएपले पछिल्ला दिनहरुमा फेक न्यूज र गतल सूचनाहरुको बारेमा निकै काम गरिरहेको छ । कम्पनीले आफ्नो प्लेटफर्ममा स्पाम रोक्नको लागि विभिन्न नयाँ फीचरहरु पनि समावेश गरेको छ ।

अब भने कम्पनीले आफ्नो मेसेजिंग प्लेटफर्मलाई गलत तरिकाले प्रयोग गर्ने र दूरुपयोग गर्नेहरुका बिरुद्धमा कारबाही गर्ने भएको छ ।

हालै ह्वाट्सएपले आफ्नो एक पोष्टमा लेखेको छ, ‘सन् २०१९ डिसेम्बर ७ तारिखदेखि ह्वाट्सएप ती मानिसहरुको विरुद्धमा कानूनी कारबाही गर्नेछ जसले हाम्रो टर्म एण्ड सर्भिसको उल्लंघन गरेर गलत काम गरिरहेको छन वा कसैलाई गलत काम गर्न सहयोग गरिरहेका छन् । यसमा अटोमेटेड मेसेजिंग, बल्क मेसेज वा नन पर्सनल यूज समावेश रहेको छ ।’

फेसबुकको अधिनमा रहेको कम्पनी ह्वाट्सएपका प्रवक्ताले टेकक्रन्चसँग भने, ‘ह्वाट्सएप निजी मेसेजिंगको लागि डिजाइन गरिएको थियो । त्यसैले हामी विश्वभर बल्क मेसेजिंग रोक्नका लागि अगाडि बढेका हौं र ह्वाट्सएप एकाउन्टको गलत प्रयोगलाई सिमित गरिएको छ । हामीले दूरुपयोग पहिचान गर्ने क्षमता बढाएका छौं, जसले हरेक महिना विश्वभर २० करोड एकाउन्टहरुलाई प्रतिबन्ध लगाउन सहयोग गरिरहेको छ ।’

तर कम्पनीले कस्तो किसिमको कानूनी कारबाही गर्ने भन्ने स्पष्ट जानकारी भने दिएको छैन् ।

ह्वाट्सएपले अघिल्लो वर्ष भ्रामक सूचना र फेक न्यूज रोक्ने कार्यमा तिब्ररुपमा काम गरीरहेको बताएको थियो । यसको लागि कम्पनीले मसिन लर्निंग सिस्टम निर्माण गरेको थियो जसले यूजर्सको अस्वभाविक व्यवहारलाई पत्ता लगाउने कार्य गर्दछ, जसमा बल्क मेसेज, धेरै एकाउन्ट बनाउने कार्यलगायत रहेका छन् ।

गत वर्षमात्र ह्वाट्सएपले एउटा मेसेज केबल ५ जनालाई मात्र फरवार्ड गर्न सकिने गरी नियन्त्रण गरेको थियो । विशेषगरि छिमेकी मुलुक भारतमा यसका प्रयोगकर्ताहरु अधिक रहेको हुँदा त्यहाँ ह्वाट्सएपको अधिक दूरुपयोग भएको भन्दै विवादहरु आईरहेका छन् । विश्वभर ह्वाट्सएपका १.५ अर्ब यूजर्स छन् भने भारतमा मात्र २० करोड प्रयोगकर्ताले ह्वा्टसएप चलाउने गरेका छन् ।

स्रोत माध्यम