अन्तर्राष्ट्रिय फोनकल अनुगमन सिस्टमको प्रकृया खारेज गरेको भन्दै दूरसंचार प्राधिकरण विरुद्ध मुद्धा

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अन्तर्राष्ट्रिय टेलिकम ट्राफिक अनुगमन गर्नको लागि आवश्यक प्रणाली जडान प्रकृया खारेज गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर भएकोछ । सो प्रकृया खारेज रोकि प्रकृयालाई शुचारु गर्न पाउँ भन्दै विदेशी कम्पनीले प्राधिकरणको विरुद्ध मुद्धा दायर गरेको हो ।

अन्तर्राष्ट्रिय टेलिकम ट्राफिक अनुगमन तथा नाप गर्न र एन्ट्रि फ्रड सिस्टम जडान गर्न शुरु गरेको प्रकृया बिनाकारण रद्ध गरीएको भन्दै भानराइज सोलूसन्स एसएएल (Vanrise Solutions S.A.L. Offshore) कम्पनीले मुद्धा दायर गरेको हो । सो दायर मुद्धामा सर्वोच्चका न्यायाधिश तेज बहादुर केसीकाे एकल इजलासले यहि २७ गते अन्तरकालिन आदेश जारी गरेको हो ।

भानराइज सोलुसन्सले सो प्रकृया अचानक खारेज गरेर आफ्नो कम्पनीलाई नोक्सानी भएको भन्दै सो प्रकृया सुचारु गराउन माग गर्दै मुद्धा दायर गरेकोमा सर्वोच्चले सो आदेश दिएको हो ।

भानराइजले आफूले सो प्रकृयाका सम्पूर्ण चरणहरु पार गरेर न्यूनतम मूल्यमा सो प्रणाली जडान गर्न तयारी गरिरहेको तर प्राधिकरणले बिना जानकारी अचानक खारेज गरेको दाबी गरेको छ ।

कम्पनीले क्यूसिबिएस अर्थात गुणस्तर र क्षमताको आधारमा गरिने टेण्डरको मूल्यांकन प्रकृयामा सहभागी भएका ४ कम्पनीहरुमध्ये आफू उत्कृष्ट भएपनि सम्झौता नगरि अचानक प्रकृया नै प्राधिकरणले रद्ध गरेको मुद्धाको निवेदनमा खुलाएको छ।

कम्पनीले अन्य तीन कम्पनीहरु एसजीएस एसए जेनेभा, सेसेल्स, एनसफ्ट लिमिटेड हंगकंग र टिकेसी टेलिकम इन्क मन्ट्रेयल, क्यानाडामध्ये टेण्डरको वित्तिय तथा प्राविधिक मूल्यांकनमा ८६.२७ अंक हासिल गरेर उत्कृष्ट भएको भएपनि सो टेण्डरको सम्झौता प्राधिकरणले नगरेको बताएको छ ।

प्राधिकरणले यहि वैशाख २९ गते कम्पनीलाई पत्र पठाएर टेण्डर खारेज गरिएको सूचना दिएको र सो पत्रमा सिमित प्रतिस्पर्धी हुन गएको भन्दै रद्ध गरेको जानकारी दिएको कम्पनीले जिकिर गरेको छ ।

‘स्पष्टिकरण बिना नै खरिद प्रकृया रद्ध गर्नु तर्क संगत र कानुन संगत नभएको, तथा असान्दर्भिक, गैर कानूनी एवं औचित्यहिन छ,’ भानराइजले दायर गरेको मुद्धाको निवेदनमा भनिएको छ ।

कम्पनीले सो प्रकृया यथासिध्र अगाडी बढाई खरिद प्रकृया टुंगोमा पुयाई पाउँ भन्दै सर्वोच्चमा माग समेत गरेको छ ।

दूरसंचार प्राधिकरणले २०७४ असोज २० गते पहिलो पटक सार्वजनिक सूचना प्रकाशित गर्दै इन्टरनेशनल टेलिकम्यूनिकेसन्स ट्राफिक मनिटरिंग/मेजरमेन्ट एण्ड एन्टि फ्रड सिस्टमको लागि आवश्यक पर्ने हार्डवेयर र सफ्टवेयरका साथै अपरेशनको डिजाइन, विकास, आपूर्ति, जडान गर्नका लागि निवेदन माग गरेको थियो ।

सो प्रणालीले स्थानिय र अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन ट्राफिक भोलुम दुबैको रियल टाइम डाटा देखाउनुपर्ने, दुबै ट्राफिकको सेवाको गुणस्तर निर्धारण गर्नुपर्नेलगायतका कामहरु गर्नुपर्ने आधार राखिएको थियो । यसको लागि प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाहरुसँग आवेदन माग गरेको थियो ।

आवेदन दिन योग्य कम्पनीले कुनैपनि देशमा टेलिकम सेवा दिएको हुननहुने, १० वर्षको अनुभव भएको हुनुपर्ने, न्यूनतम २ करोड भन्दा बढिको वार्षिक कारोबार भएको हुनुपर्नेलगायतका मापदण्ड तोकेको थियो ।

यस्तो सिस्टमले स्थानिय र अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन ट्राफिक भोलुम मापन गर्ने, गैरकानूनी भीओआईपी गेटवेहरु पत्ता लगाउने, सेवाको गुणस्तर मापन गर्नेसक्ने उद्धेश्य राखेको थियो । जसअन्तरगत अपरेटरहरुको ट्राफिक भोलुम मनिटर गर्ने, कल डाटा रेकर्ड दिनसक्ने, अपरेटरहरुको ट्राफिक एक्सचेन्जको अवस्थाको रियल टाइम भिजुअलाइजेसन गर्नसक्ने किसिमको हुनुपर्ने प्रावधानहरु थिए ।

यसको फ्रड कन्ट्रोल सिस्टमअन्तरगत भने विश्वभरबाट नेपालमा आउने कलहरुको जानकारी दिनुपर्ने, कल डाटा रेकर्ड बनाउनुपर्ने, अनधिकृत गैरकानूनी कलहरुको पहिचान गर्नसक्नुपर्ने र सो सिस्टमले चौविसै घण्टा ३६५ दिन नै सक्रिय हुनुपर्ने किसिमको बनाउनुपर्ने सो टेण्डरको प्रावधानमा थियो ।

नेपालमा अन्तराष्ट्रिय फोनकल गेटवेको अनुमति नेपाल टेलिकम, एनसेल, नेपाल स्याटेलाइट टेलिकम, स्मार्ट टेलिकम, यूटिएल र एसटिएमसँग भएपनि तीनवटा कम्पनीहरु नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र यूटिएलले मात्र सो अनुमतिको उपयोग गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

सो टेण्डर सार्वजनिक गरेको समयमा प्राधिकरणका एक अधिकारीले दूरसंचार कम्पनीहरुले अन्तराष्ट्रिय फोनकल ट्राफिकको सूचना नै नदिने, दिएपनि स्पष्ट सूचना नदिने तथा राजस्व छली गरेको आशंकामा सो प्रविधि निर्माण गर्न लागिएको बताएका थिए।

तत्कालिन समयमा प्राधिकरणका अध्यक्ष दिगम्बर झाले साे टेण्डर खुलाएका थिए भने हालका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले साे प्रकृया खारेज गरेका थिए ।

सो मुद्धाबारे छलफल गर्न दूरसंचार प्राधिकरणलाई आउँदो असार ४ गते सर्वोच्चले बोलाएको छ।

Leave a Reply