लाइसेन्स नविकरण शुल्क तिर्न नमानेको टेलिकमद्धारा फ्रिक्वेन्सी दस्तुरमा समेत बखेडा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बिच फ्रिक्वेन्सी दस्तुरको सम्बन्धमा विवाद उत्पन्न भएको छ ।

टेलिकमलाई उपलब्ध गराईएको ८०० मेगाहर्ज ब्याण्डको दस्तुर तिर्ने विषयमा नियमनकारी निकाय प्राधिकरण र सेवा प्रदायक कम्पनी टेलिकमको बिचमा विवाद उत्पन्न भएको हो ।

मन्त्रीपरिषदको निर्णयअनुसार हालसम्म मोबाइल सेवाको नविकरण शुल्क नबुझाएको नेपाल टेलिकमले आफूले लिएको फ्रिक्वेन्सीको दस्तुर समेत नतिर्ने बताएको छ । नेपाल टेलिकमले आफूले पाएको ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको दस्तुर प्रदान गरिएको समयबाट तिर्न नसक्ने पत्र पठाएपछि दुबै संस्थाबिच बिबाद आएको हो ।

टेलिकमले यहि जेठ १ गते प्राधिकरणलाई पत्र पठाउँदै आफूले सो ८०० मेगाहर्ज ब्याण्डमा २x१० मेगाहर्ज ब्याण्डविथ फ्रिक्वेन्सी पाएपनि व्यवसायिक उपयोग नभएसम्म त्यसको दस्तुर नतिर्ने जानकारी गराएको थियो ।

तर प्राधिकरणले भने फ्रिक्वेन्सी पाएको अवधिदेखि नै दस्तुर तिर्नुपर्ने निर्णय त्यसअगाडी नै वैशाख ३ गते बोर्ड बैठकबाट पारित गराएर जानकारी गराएको थियो । टेलिकमले नियमनकारी निकाय प्राधिकरणको सो निर्णय अस्विकार गर्दै फ्रिक्वेन्सी प्राप्त भए पश्चात मात्र नयाँ योजना बनाई व्यवसायिक संचालन गरी सेवाबाट आम्दानी हुने हुँदा फ्रिक्वेन्सी दस्तुर पनि सोहि समयबाट मात्र तिर्ने बताएको थियो।

८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दस्तुर सम्बन्धी बिबाद उत्पन्न भएपछि प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई फ्रिक्वेन्सी दिएको समयदेखि नै दस्तुर असुल गराउनुपर्ने व्यवस्थाको लागि सिफारिस गरेको छ ।

८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दस्तुरको बारेमा प्राधिकरणले मन्त्रालयअन्तरगत रहेको समितिमा जानकारी गराएको प्राधिकरणका एक अधिकारीले बताए ।

‘अहिलेसम्म फ्रिक्वेन्सी लिएको समयदेखि नै दस्तुर तिर्ने व्यवस्था छ तर टेलिकमले भने व्यवसायीक प्रयोग गरेको अवधिदेखि मात्र दस्तुर लिनुपर्ने बताउँदै आएको हो, नीतिमा पनि यो बारे स्पष्ट छैन्,’ उनले टेक्नोलोजीखबरसँग भने ।

प्राधिकरणले दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीति (पहिलो संसोधन), २०७३ मा सो बारेमा स्पष्ट उल्लेख नभएको हुँदा फ्रिक्वेन्सी दिएको मितिदेखि नै दस्तुर लागू गर्नुपर्ने भन्दै सिफारिस पत्र पठाएको उनले जानकारी दिए ।

यो पनि पढ्नुस्-

नेपालबाट सिडिएमए सन् २०२२देखि बन्द, ८०० मेगाहर्ज ब्याण्डमा फोरजी आउँदै