दूरसंचार प्राधिकरणको अध्यक्षको लागी आवेदन माग, यस्तो छ निवेदकलाई न्यूनतम योग्यता

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि सरकारले खुला आवेदन माग गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर अध्यक्ष पदको आवेदन माग गरेको हो ।

हाल प्राधिकरणमा कार्यबाहक अध्यक्षको रुपमा पुरुषोत्तम खनाल कार्यरत छन भने यसअघि कार्यकारी अध्यक्षको पदबाट दिगम्बर झाले राजीनामा दिएका थिए ।

झाको दोस्रो कार्यकाल नियुक्ती बिबादास्पद भएपछि उनले राजीनामा बुझाएका थिए । झाको राजीनामासँगै कार्यकारी अध्यक्षको पद खाली भएपछि मन्त्रालयले नियमावलीमा संसोधन गर्दै बढिमा ६ महिनासम्मको लागि कार्यबाहक अध्यक्षको पद सिर्जना गरेको थियो । सो संसोधनलगत्तै मन्त्रालयले प्राधिकरणमा वरिष्ठ निर्देशकको पदमा कार्यरत पुरुषोत्तम खनाललाई कार्यबाहक अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्षको पदका लागि योग्यता पुगेका व्यक्तिहरुले सूचनाअनुसारको विबरणहरुसहित मन्त्रालयमा आवेदन दिन सक्नेछन् ।

यस्तो छ आवश्यक योग्यता

सरकारले माग गरेको दरखास्तअनुसार आवेदक ३० वर्षमाथिको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै कम्तीमा स्नातक उपाधि हासिल गरेर सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ ।

अनुभवको हकमा भने कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणी, दशौं तह, वा सोभन्दा माथिल्लो पदमा अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

१५ दिने सो सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विबारण, निवेदकले प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणको प्रतिलिपि, अंग्रेजी वा नेपाली भाषामा ए फोर साइजको कागजमा तयार गरिएको बढीमा ५ पृष्ठको व्यावसायिक कार्ययोजना, फोटोका साथै कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वघोषणा गर्दै बुझाउन भनिएको छ ।

आवेदनहरुको अध्ययनको आधारमा छनौट सूची तयार पार्ने र अन्तिम नामावली तयार हुनेछ ।

यसअघि नै सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष चयनका लागि छनौट तथा सिफारिस समिती गठन गरिसकेको छ।

मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गको संयोजकत्वमा ३ सदस्यिय छनौट तथा सिफारिस समिती गठन गरेको हो, जसले नयाँ अध्यक्ष खुला प्रतिस्पर्धामार्फत छनौट गर्नेछ ।

सो समितीमा सचिव बाहेक मन्त्रालयका एक जना सहसचिव नै सदस्य सचिव हुनेछन भने अर्को एक जना सदस्य विज्ञको रुपमा राखिनेछ।

सो समितीले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्षको लागि खुला प्रतिस्पर्धामार्फत सरकारलाई सिफारिस गर्नेछ । त्यस्तो सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

सोहि सिफारिस भएको नामको आधारमा मन्त्रिपरिषदले नयाँ अध्यक्ष तथा सदस्य नियुक्ति गर्नेछ ।

दूरसंचार ऐनमा के छ ?

प्राधिकरणका अध्यक्ष चयन गर्न दूरसंचार ऐन २०५३ अनुसार सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बन्नेछ, जसमा एकजना विज्ञसहित मन्त्रालयका सहसचिव सदस्य सचिवको रुपमा रहनेछन् ।

दूरसंचार ऐन २०५३ को दफा ५ मा प्राधिकरणको गठनको बारेमा उल्लेख छ । सो दफाको उपदफा १ मा ‘प्राधिकरणमा दूरसंचार सेवासंग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा तोकिए बमोजिम योग्यता र अनुभव भएका अध्यक्ष सहित पाँचजना सदस्यहरु रहनेछन्,’ भन्ने उल्लेख छ ।

त्यस्तै सोही दफाको उपदफा २ मा प्राधिकरणको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको विषयमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न नेपाल सरकारले सम्बद्ध क्षेत्रका विज्ञहरू समेत रहेको एक समिति गठन गर्ने र सो समितिको सिफारिशमा नेपाल सरकारले अध्यक्ष तथा सदस्यको नियुक्ति गर्नेछ ।

कति चाहिन्छ योग्यता ?

दूरसंचार नियमावली २०५४ मा प्राधिकरणको अध्यक्ष हुनका लागि न्यूनतम योग्यता स्पष्ट तोकिएको छ । नियमावलीमा प्राधिकरणको अध्यक्ष वा सदस्य हुनको लागि ऐनको दफा ५ को उपदफा १ मा,’उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने,’ उल्लेख छ ।

समितिले छनौट गरेर ३ जनालाई अध्यक्ष पदका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ भने मन्त्रिपरिषदले छनौट भएका मध्येबाट एक जनालाई अध्यक्ष पदमा ५ वर्षका लागि नियुक्ति गर्नेछ ।

यो पनि हेर्नुस्

को बन्छ दूरसंचार प्राधिकरणको कार्यबाहक अध्यक्ष, भयो नियमावली संसोधन