सूचना प्रविधि अत्यावश्यक सेवाको रुपमा रहेको सरोकारबालाहरुको भनाई

Technology Khabar २४ जेष्ठ २०७६, शुक्रबार

सूचना प्रविधि अत्यावश्यक सेवाको रुपमा रहेको सरोकारबालाहरुको भनाई

काठमाडौं ।

काठमाडौं । सूचना प्रविधि अहिलेको समाजको लागि अत्यावश्यक सेवाको रुपमा रहेको सरोकारबालाहरुले औंल्याएका छन् ।

सूचना प्रविधिको उपयोग र उपभोक्ताको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढिरहेको र यो अत्यावश्यक भएको बताईएको हो ।

कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. मनिष पोखरेलले ई गर्भनमेन्टमार्फत सूचना प्रविधिको प्रयोग बढ्दै गएको भन्दै डिजिटल डिभाइडको अवस्थामा पनि परिवर्तन आएको बताए । उनले अहिले स्लो इन्टरनेट स्पीड उपयोग गर्ने र तिब्रगतिको इन्टरनेट उपयोग गर्नेबिचको खाडल बढिरहेको भन्दै त्यसले आगामी दिनमा डिजिटल डिभाइड बढ्ने बताए ।

वल्र्डलिंक कम्यूनिकेसन्सका दिलिप अग्रवालले नेपालमा इन्टरनेट सेवाको मूल्य निकै सस्तो भएको तर मोबाइल सेवा प्रदायकहरुका थ्रीजी र फोरजीको मूल्य भने नघटेको गुनासो गरे ।

उनले फाइबरमा आधारित इन्टरनेट ब्रोडब्याण्ड दिने निकै कम देशहरुमध्ये नेपाल भएको दाबी गरे । सरकारले आइएसपीहरुलाई पनि अधिक कर लगाएको तर अन्य विषयहरुमा भने नहेरिएको बताए ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बिरेन्द्र कुमार मिश्रले डिजिटल नेपालको फ्रेमवर्कको बिस्तृत योजना बनिरहेको र त्यो छिटै आउने जानकारी दिए । उनले सूचना प्रविधिको प्रयोगका लागि डिजिटल लिटरेसीको लागि सरकारले चालु आर्थिक वर्षदेखि नै काम गर्ने लक्ष्य लिएको बताए ।

नेपाल दूरसंचार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले दूरसंचार सेवा क्षेत्र प्रतिस्पर्धाको बजार भएको भन्दै नियमनकारी निकायले सेवा प्रदायक र उपभोक्ता दुबैको बारेमा ध्यान दिने उल्लेख गरे । उनले प्रतिस्पर्धामा रहेर सेवा दिन सेवा प्रदायकलाई आग्रह गरेका थिए ।

कार्यक्रममा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सूचना प्रविधिको क्षेत्रमा समेत बिकृती रहेको भन्दै त्यसलाई नियमन गरिनुपर्ने बताईन् । उनले प्रविधिको दिगो विकाससँगै त्यसलाई नियमन र व्यवस्थापन गर्न सूचना प्रविधि ऐन आएको विचार व्यक्त गरिन् ।

प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार