नेपाल क्लियरिङ हाउस र युकेएड सक्षम बीच साझेदारी, डिजिटल भुक्तानी प्रणाली बिस्तार र प्रवर्द्धन

Technology Khabar २० जेष्ठ २०७६, सोमबार

नेपाल क्लियरिङ हाउस र युकेएड सक्षम बीच साझेदारी, डिजिटल भुक्तानी प्रणाली बिस्तार र प्रवर्द्धन
NTC_Advt

काठमाडौं ।

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले युकेएडको सक्षम एक्सेस टू फाइनान्स (सक्षम) कार्यक्रमसँग कनेक्ट आइपीएस ई पेमेन्ट प्रणाली प्रवद्र्घन गर्न, नेशनल पेमेन्ट इन्टरफेस लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फण्ड विस्तार गर्न साझेदारी सम्झौता भएको छ । सो सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।

उक्त परियोजना अन्तर्गत उल्लेखित तीन प्रमुख कार्यहरु कनेक्ट आइपीएस ई पेमेन्ट प्रणालीको प्रवर्द्धन गर्ने तथा त्यसको बारेमा सचेतना जगाउने र तालिम दिने, नेशनल पेमेन्ट इन्टरफेस निर्माण गरी लागू गर्ने तथा सेटलमेन्ट ग्यारेन्टी फण्डको विस्तार गर्ने रहेका छन् ।

उल्लेखित कार्यहरुले नेपाल भरिका बैंक वित्तिय संस्थाहरु लगायत तीनका ग्राहकहरु, सरकारी तथा अर्ध-सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु, पीएसपी/पीएसओ लगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने बिश्वास लिइएको छ । यस परियोजनाले डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

‘हामीले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीतिसँग मेल खाने गरी विभिन्न भुक्तानी प्रणालीहरूको स्थापना तथा सञ्चालन गरिआएका छौं। हाल रणनीतिक रुपमा त्यस्ता प्रणालीहरूलाई समेत एकीकृत गर्ने, बैंक तथा वित्तीय संस्थाहरू तथा भुक्तानी क्षेत्रका सरोकारवालाहरूलाई डिजिटल भुक्तानी सेवाहरू विस्तार गर्नको लागि आवश्यक मद्दत पुर्याउने रहेको छ,’ एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधानले भने ।

‘नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासलाई, बैंक तथा वित्तीय संस्था, पीएसपी/पीएसओ, विभिन्न संस्था र ग्राहकहरूको लागि साझा प्रणाली उपलब्ध गराई ती संस्थाहरूले विना अवरोध भुक्तानी सेवा प्रवाह गर्न एनसीएचएलसँगको यस साझेदारीले सहयोग गर्ने छ,’ सक्षमका टीम लिडर दाहालले भने ।

प्रकाशित: २० जेष्ठ २०७६, सोमबार