टेलिकमलाई मोबाइल सेवा लाइसेन्स नवीकरण दस्तुरमा पाँच किस्ताको सुविधा

Technology Khabar १७ जेष्ठ २०७६, शुक्रबार

टेलिकमलाई मोबाइल सेवा लाइसेन्स नवीकरण दस्तुरमा पाँच किस्ताको सुविधा
फाइल
Classic Tech

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले मोबाइल सेवाको लाइसेन्स दोस्रो नवीकरण दस्तुर पाँच किस्तामा तिर्न सकिने सुविधा पाएको छ । यहि जेठ १०, १३ र १५ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय बिहिबार सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले टेलिकमलाई मोबाइल सेवाको दोस्रो नवीकरण वापतको दस्तुर पाँच किस्तामा बुझाउने सुविधा दिने निर्णय मन्त्रीपरिषदले गरेको जानकारी दिए ।

टेलिकमले दोस्रो नवीकरण वापतको नवीकरण दस्तुर २० अर्ब रुपैयाँमध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी प्रथम किस्ता वापतको दूरसञ्चार (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न टेलिकमलाई सूचित गराउने निर्णय गरिएको छ ।

यसअघि दूरसंचार ऐन, २०५३ तथा दूरसञ्चार नियमावली, २०५४ मा मोबाइल सेवाको नवीकरण दस्तुरको बारेमा स्पष्ट व्यवस्था नहुँदा दोस्रो पटकको नवीकरण दस्तुर कति लिने भन्ने अन्योल थियो ।

यसै विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले चैत ३ गते नविकरण दस्तुर २० अर्व रुपैयाँ नै तिर्नुपर्ने भनी निर्णय गरेको थियो । सोहि निर्णयलाई आधार मानेर मन्त्रीपरिषदको बैठकले नेपाल टेलिकमलाई दोस्रो नविकरणको दस्तुर २० अर्ब नै कायम गरि वाँकी रहेको रकमको पहिलो किस्ता तत्कालै तिर्न सुचित गर्ने निर्णय गरेको हो । तर सो किस्ता रकम कति कति वर्षमा तिर्ने भन्ने स्पष्ट गरिएको छैन् ।

यसअघि टेलिकमले दोस्रो पटक २०७१ वैशाखमा १८ करोड ९० लाख रुपैयाँ बुझाएर अनुमति नवीकरण गरेको थियो । कम्पनीले अनुमतिपत्र लिँदा तिरेको दस्तुर २१ करोड रुपैयाँको ९० प्रतिशत रकमले हुन आउने रकम १८ करोड ९० लाख तिरेर लाइसेन्स नवीकरणका लागि निवेदन दिएको हो । २० अर्बमध्ये बुझाउन वाँकी रहेको १९ अर्ब ८१ करोड १० लाख रुपैंया बुझाउन टेलिकमले पाँच किस्ताको सुविधा पाएको हो । मन्त्रीपरिषदको गरेको निर्णयसँगै दोस्रो नविकरण दस्तुर वापत पहिलो किस्तामा टेलिकमले तत्कालै तीन अर्ब ९६ करोड २२ लाख रुपैयाँ भन्दा बढी प्राधिकरणलाई बुझाउनु पर्ने भएको छ ।

दोस्रो नवीकरणको विषयमा मन्त्रीपरिषदको निर्णय भएको भएतापनि उक्त निर्णयमा टेलिकमको तेस्रो नविकरणको विषयमा भने केहि उल्लेख गरिएको छैन् । यहि वैशाख २९ गतेबाट टेलिकमको तेस्रो नविकरणको अवधि पनि सकिएको छ । ३ महिना अघि नै लाइसेन्स नवीकरणका लागि निवेदन दिएको नेपाल टेलिकमको विषयमा अझै पनि के गर्ने भन्ने अन्योलमा रहेको बेला मन्त्रीपरिषदले दोस्रो किस्ताको विषयमा निर्णय गरेतापनि तेस्रो किस्ताको विषयमा नबोल्दा अन्यौलता थपिएको छ ।

पाँच वर्षअघि नै तिर्नुपर्ने दोस्रो पटकको नविकरण दस्तुरको बारेमा ५ वर्षपछि मात्र निर्णय भएपनि हाल बुझाएको तेस्रो पटकको मोबाइल सेवा नविकरण दस्तुर प्राधिकरणले कसरी लिने भन्ने अझै स्पष्ट भएको छैन् ।

यसअघि तेस्रो पटकको दस्तुरको बारेमा पनि टेलिकमले कानुनमा नै व्यवस्था नभएको हुँदा २० अर्ब तिर्न नसकिने पत्र प्राधिकरणलाई पठाएको थियो ।

टेलिकमको बारेमा मन्त्रीपरिषदले निर्णय गरेपनि अर्को मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको बारेमा भने कुनै निर्णय सार्वजनिक भएको छैन् । तर एनसेलले भने आफूले बुझाउनुपर्ने दोस्रो नवीकरण बापतको रकम पनि किस्तामा तिर्न सकिने सुविधा पाउने अपेक्षा गर्दै ४ अर्ब रुपैयाँको करकट्टि गरेर ३ अर्ब ४० करोड रुपैयाँ प्राधिकरणलाई बुझाएको छ ।

TK Viber

प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

Loading...