एप्पलले ल्यायो अपग्रेड गरिएका म्याकबुक प्रो, नयाँ प्रोसेसर र नयाँ कीबोर्ड उपलब्ध

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले नयाँ म्याकबुक प्रो सार्वजनिक गरेको छ । कम्पनीले यसअघिको म्याकबुक प्रोमा अपडेट गर्दै नयाँ जेनेरेशनको प्रोसेसरका साथमा ल्याएको हो ।

कम्पनीले ल्याएको नयाँ म्याकबुक प्रोमा आठौं र नवौं पुस्ताको इन्टेल कोर प्रोसेसर राखिएको छ, जून यसअघिको क्वाड कोर मोडल भन्दा दोब्बर तिब्र गतिमा काम गर्न सक्दछ भने ६ कोर म्याकबुक प्रो भन्दा ४० प्रतिशत अधिक कार्य क्षमता देखाउन सक्छ ।

नयाँ ८कोर म्याकबुक प्रोमा नयाँ प्रोसेसरका साथसाथै कम्पनीले कीबोर्ड टेक्नोलोजीमा पनि परिवर्तन गरेको छ । कम्पनीले बटरफ्लाई कीबोर्ड टेक्नोलोजीसहित ल्याएको नयाँ म्याकबुक प्रोको कीबोर्डमा कम्पनीले थप नयाँ तह थप गरेको छ जसले धुलो भित्र पस्नबाट रोक्छ भने टाइप गर्दा सहजता प्रदान गर्दछ ।

यसअघि बटरफ्लाई कीबोर्डमा समस्या आउँदा टाइप नै नहुने वा डबल टाइप हुने गरेको थियो ।

एप्पलले नयाँ प्रोसेसर र कीबोर्ड दुबै १५ इन्च र १३ इन्चको म्याकबुक प्रोमा राखेको छ । यो कम्पनीको चौथो बटरफ्लाई कीबोर्ड रिभिजन हो ।

नयाँ अपग्रेड गरिएका म्याकबुक प्रोहरुमध्ये १३ इन्चको मूल्य १,७९९ अमेरिकी डलरबाट शुरु हुन्छ भने १५ इन्चको म्याकबुक प्रोको मूल्य २,३९९ अमेरिकी डलरबाट शुरु हुन्छ । नयाँ ८ कोर कन्फिगरेसन भएको म्याकबुक प्रो भने १५ इन्चमा मात्र उपलब्ध हुनेछ जसको शुरुवाती मूल्य २,७९९ डलर रहेको छ ।

यसका साथै एप्पलले आफ्नो कीबोर्ड सर्भिसलाई थप बढाउँदै २०१८ म्याकबुक प्रो तथा म्याकबुक एयरमा पनि लागू गरेको छ ।