Technology Khabar ६ जेष्ठ २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं। ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिए।
उनले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन भाडाका सवारी साधनमा ‘ड्रेस कोर्ड’, सबै चोकमा ट्राफिक लाइट सञ्चालन, ट्राफिक जानकारी सम्बन्धी मोबाइल एप्स, स्मार्ट पार्किङ, नमूना सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न लागेको बताए ।
महाशाखाले एक वर्षको अवधिमा विभिन्न कसुरमा तीन लाख ८४ हजार २०६ सवारी चालकलाई कारवाही गरेको छ।
महाशाखाले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने २६ हजार ४०९, लेन अनुशासन उलङ्घन गर्ने ३२ हजार २७, अर्कोको नाममा लाइसेन्स लिन जाने १३, हर्नमा १२ हजार २७१, ह्वील लकमा दुई हजार ८७६, बढी भाडा लिने १० हजार ७८७, सिसिटिभीमा पाँच हजार ६०, सर्भिलेन्स सवारी साधन ९९५, मापसेमा २८ चालकलाई निलम्बन गरेको जानकारी दिएको छ।
प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार