बीमा समितिको ५१ औं वार्षिकोत्सव, कम्पनीहरुलाई मर्जरमा जान अर्थमन्त्रीको सुझाव

काठमाडौं । बीमा समितिले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ । राजधानीमा आयोजित समितिको ५१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरु मर्जरमा जानुपर्ने बताएका छन् । उनले संख्यात्मक भन्दा पनि गुणात्मकरुपमा अगाडि जान सुझाव दिए ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवि चापागाईँले १८ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको जानकारी दिए। उनले प्रगती बिबरण दिँदै हाल जीबन बीमा १९ र निर्जीबन बीमा कम्पनी २० गरी ३९ वटा कम्पनी सञ्चालनमा रहेका र एउटा पुर्नबीमा कम्पनी संचालनमा रहेको बताए ।

बीमा समितिकाअनुसार गएको पुस मसान्तसम्म ५२ लाख ५० हजार १२७ वटा बीमालेख जारी भएका छन्। अध्यक्ष चापागाईँले बीमा कम्पनीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले यसअघि मर्ज तथा एक्वीजिसन सम्वन्धी निर्देशिका जारी भएको बताए।

कार्यक्रममा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पदमप्रसाद सोडारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायत बीमा क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसर पारेर बीमा समाचार विचार विशेषाङ्क बिमोचन गर्नुका साथै अर्थमन्त्री खतिवडाद्वारा लामो समय काम गरेका कर्मचारीहरुलाई ताम्रपत्र र दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।