भारतमा उत्पादित आइफोन सिक्स एसको आक्रामक मार्केटिङ्ग, भारु २६ हजार ९१० मा पाईने

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले भारतमा आफ्नो बजार बिस्तार गर्न मेड इन इण्डिया आइफोनको प्रबद्र्धन गर्न शुरु गरेकोछ । कम्पनीले हालै भारतमा एसेम्बल्ड गरिएको आइफोन सिक्स एसलाई फोकस गर्दै नयाँ बजार अभियान शुरु गरेको छ ।

विशेषगरि भारतमा उत्पादन गरिएको फोनको रुपमा नयाँ क्याम्पेन गरेको हो जसलाई मेड इन इण्डिया आइफोनको रुपमा ल्याएको छ ।

कम्पनीले यसको प्रबद्र्धनमा अतुलनिय आइफोनसिक्स एसको न्यूनतम मूल्यमै किन्न सकिने जानकारीसहित प्रबद्र्धन शुरु गरेको हो । भारतमा आइफोन सिक्स एसको शुरुवाती मूल्य २६ हजार ९१० भारतीय रुपैयाँ अर्थात करिब ४३ हजार रुपैयाँमा किन्न सकिने छ ।

एप्पलले गत वर्ष जूनमहिनादेखि भारतमा आइफोन सिक्स एस उत्पादन गर्न शुरु गरेको थियो । एप्पलको सप्लायर विस्ट्रोनले गत मार्चमा आइफोन उत्पादनको अनुमति पाएको थियो जहाँ आइफोन एसई पनि उत्पादन हुने गरेको छ ।

एप्पलले यो विज्ञापन अभियानमा आइफोन सिक्सएसको उत्कृष्ट ब्याट्री, क्यामरा, रेटिना एचडी डिस्प्ले तथा ए९ प्रोसेसरको बारेमा जानकारी दिँदै ग्राहकलाई आकर्षित गर्ने प्रयास गरेको छ ।
एप्पलले आइफोन सिक्स अमेरिका र यूरोपेली बजारमा भने बिक्री बन्द गरिसकेको छ । तर केहि सस्तो बजारमा भने यो अझै उपलब्ध गराईरहेको छ ।

एप्पलले ४ वर्ष पुरानो आइफोन बिक्री गरेर अधिक छनौटको अवसर भएका भारतका ग्राहकहरुलाई के आकर्षण गर्न सक्ला भन्ने प्रश्न विश्लेषकहरुले गरेका छन् । एजेन्सी