अमेरिकामा विदेशी टेलिकम उपकरण प्रयोगमा रोक,राष्ट्रपति ट्रम्पद्धारा सङ्कटकाल घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउन सक्ने ठानिएका दूरसञ्चार उपकरणहरु अमेरिकी कम्पनीले प्रयोग गर्न बन्देज लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले साइबर हमलाबाट अमेरिकी सञ्चार कम्प्यूटरहरुलाई बचाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको बताएका छन् ।

उनको आदेश अन्तरगत अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विश्वास गरिएका विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न बन्देज लगाएको छ । उनको आदेशमा कुनै विदेशी कम्पनीको नाम छैन तरविश्लेषकहरूले भने आदेश मार्फत चिनियाँ कम्पनी ह्वावेलाई निसाना बनाउन खोजिएको बताएका छन् ।

अमेरिका सहित केहि देशहरुले चीनको ह्वावेले उत्पादन गरेका दूरसंचार उपकरणहरूको प्रयोग गरी चीनले आफ्ना गतिविधिको निगरानी गर्न सक्छ भन्दै चिन्ता व्यक्त गरिसकेका छन्। ह्वावेले भने आफ्ना उत्पादनहरुले सुरक्षा खतरा उत्पन्न गर्ने भन्ने आरोपहरू अस्वीकार गर्ने गरेको छ ।

अमेरिका अहिले चीनसँग चर्किँदो व्यापार युद्धमा समेत होमिएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले ह्वावे र ऊसँग सम्बन्धित ७० वटा कम्पनीहरूलाई कालो सूचीमा राख्न लागिएको बताएको छ । अब ती कम्पनीहरूलाई अमेरिकी कम्पनीहरूसँग कारोबार गर्न झनै कठिन हुनेछ ।

आदेशले वाणिज्य मन्त्रीलाई राष्ट्रिय सुरक्षाको लागि अस्वीकार्य हुने जोखिमलाई बढावा दिने कारोबारमाथि प्रतिबन्ध लगाउने थप अधिकार प्रदान गरेको छ।

अमेरिकी सङ्घीय सञ्चार आयोगका अध्यक्ष अजित पाइले राष्ट्रपतिको कदमको स्वागत गरेका छन्। उनले एक वक्तव्य मार्फत यो अमेरिकी राष्ट्रिय सञ्जालहरूको रक्षाका लागि चालिएको एक महत्त्वपूर्ण कदम भएको बताएका छन्।

अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई यसअघि नै ह्वावेका उत्पादन र उपकरणहरु प्रयोग गर्नबाट बन्देज लगाईसकेको छ। उसले आफ्ना मित्र शक्तिहरूलाई पनि ह्वावेका उत्पादन प्रयोग नगर्न भनेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना फाइभ जी नेटवर्क सञ्जालहरूमा ह्वावेका उत्पादनहरूको प्रयोग रोकिसकेका छन्।

विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण उत्पादक कम्पनी ह्वावेले भने सो आरोप अस्विकार गर्दै आएको छ र आफ्ना उपकरणहरुबाट कुनै जोखिम नभएको दाबी गरिरहेको छ ।