Technology Khabar १ जेष्ठ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ कम्पनी वनप्लसले आफ्नो दुईवटा नयाँ फ्ल्यागशिप स्मार्टफोनहरु वनप्लस सेभेन र वनप्लस सेभेन प्रो विश्व बजारमा लन्च गरेको छ । कम्पनीले मंगलबार लन्च गरेको सो दुई स्मार्टफोनहरुमध्ये एउटा रेगूलर अपग्रेड हो भने अर्को प्रिमियम स्पेशिफिकेसन सहितको फोन हो ।
वनप्लस सेभेन प्रो (OnePlus 7 Pro)
कम्पनीले वनप्लस सेभेन प्रोलाई प्रिमियम स्मार्टफोनको रुपमा ल्याएको छ, जून ट्रिपल रियर क्यामरा सेटअप, पपअप सेल्फी क्यामरा, ९० हर्ज रिफ्रेश रेटयुक्त डिस्प्ले भएको वनप्लसको पहिलो फोन हो ।
यो स्मार्टफोनलाई कम्पनीले पुरै रिडिजाइन गरेर सार्वजनिक गरेको छ जसमा यसअघिको भेरिएन्टभन्दा निकै सुधारहरु रहेका छन् ।
वनप्लस सेभेन प्रोमा फ्लुड एमोलेड डिस्प्ले राखिएको छ जसमा ६.६७ इन्चको क्यूएचडी प्लस रिजोल्यूशन रहेको छ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेज रेट रहेको छ । यसको डिप्लेमा एचडीआर १० प्लस कलरहरु हेर्न सकिन्छ ।
यो फोनलाई क्यामराको आधारमा पनि कम्पनीले उच्चस्तरको स्मार्टफोनको रुपमा ल्याएको छ । कम्पनीले यसमा ट्रिपल क्यामरा राखेको छ जसमा ४८ मेगापिक्सेलको सोनीको सेन्सर प्रयोग गरिएको छ । यसका साथै ८ मेगापिक्सेलको टेलीफोटो क्यामरा तथा १६ मेगापिक्सेलको अल्ट्रावाइड एंगल क्यामरा रहेको छ ।
यसको मेन क्यामराले एचडीआर प्लस फोटो खिच्दछ भने ४ गुणाा उज्यालो तस्विर खिच्न सक्दछ । त्यसैगरि यसले फोरके भिडियो ६० फ्रेम प्रति सेकेण्डले खिच्न सक्नेछ भने यसमा स्लोमोसन भिडियोको लागि पनि फीचर रहेको छ ।
फोनमा थर्ड जेनेरेशनको इन डिस्प्ले फिंगरप्रिन्ट डिस्प्ले रहेको छ भने डल्बी स्पीकर राखिएको छ ।
वनप्लस सेभेन प्रोमा स्न्यापड्रागन ८५५ चीपसेट राखिएको छ भने यो स्मार्टफोन ६जीबी, ८जीबी र १२ जीबी र्याम अप्सनमा उपलब्ध हुनेछ । यसको स्टोरेज १२८ जीबी र २५६ जीबी अप्सनमा रहेको छ ।
पावरको लागि वनप्लस सेभेन प्रोमा ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ र ३० वाट फास्ट चार्ज सपोर्टका साथमा आउँछ । एन्ड्रोयड ९ पाईमा आधारित अक्सिन ओएस ९.५ मा यो स्मार्टफोन संचालन हुन्छ ।
वनप्लसको नयाँ फोन नेबुला ब्लू, मिरर ग्रे र अलमोण्ड कलर अप्सनमा उपलब्ध हुनेछ । यो पोन अमेरिका, क्यानाडा, चीन, भारत, यूरोपेली मुलुकहरुमा पहिलो चरणमा उपलब्ध हुनेछ ।
कम्पनीकाअनुसार ६जीबी १२८ जीबी स्टोरेज अप्सनको मूल्य ६७० अमेरिकी डलर तोकेको छ भने ८ जीबी २५६ जीबी स्टोरेज अप्सनको मूल्य ७०० तथा १२ जीबी २५६ जीबीको मूल्य ७५० डलर तोकेको छ ।
वनप्लस सेभेन (OnePlus 7)
त्यसैगरि अर्को फोन वनप्लस सेभेन भने रेगुलर फोनको रुपमा आएको छ । यसमा वाटरड्रप नोच डिजाइन डिस्प्ले राखिएको छ । यो फोनमा भने ड्यूल रियर क्यामरा रहेको छ जसमा ४८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । सेल्फीका लागि भने १६ मेगापिक्सेलको क्यामरा छ ।
यो फोनमा पनि वनप्लस सेभेन प्रोको जस्तै प्रोसेजर र र्याम तथा स्टोरेज अप्सन रहेको छ । दुबै फोनहरुको अपरेटिंग सिस्टम समेत समान रहेकोछ ।
वनप्लस सेभेनमा पावरका लागि ३,७०० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा २० वाटको फास्ट चार्ज सपोर्ट छ ।
वनप्लस सेभेन ६जीबी र्याम र ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र २५६ जीबी स्टोरेज अप्सनमा मात्र उपलब्ध हुनेछ ।
प्रकाशित: १ जेष्ठ २०७६, बुधबार