हेटौंडामा डिजास्टर रिकभरी सेन्टर स्थापना, वैकल्पिक डाटा सेन्टरको रुपमा प्रयोग हुने

काठमाडौं । कोरियाली सरकारको अनुदान सहयोगमा नयाँ सरकारी डाटा सेन्टर हेटौंडामा संचालनमा आएको छ । काठमाडौं बाहिर पहिलो पटक नयाँ डाटा सेन्टर संचालनमा आएको हो ।

सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नको लागि आवश्यक पर्ने सरकारी तथ्यांकहरु संग्रह र संरक्षण गर्नको लागी वैकल्पिक व्यवस्था गर्न हेटौंडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको हो।
डिजास्टर रिकभरी सेन्टर नामक डाटा सेन्टर मुख्य डाटा सेन्टर नभई वैकल्पिक डाटा सेन्टर हो ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको ४३ लाख अमेरिकी डलर लगानीमा हेटौंडाको डाटा सेन्टर निर्माण गरिएको हो।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ट्विट गर्दै कोरियाको सहयोगमा हेटौंडामा डाटा रिकभरी सेन्टर स्थापना भएको उल्लेख गरेका छन् । उनले ट्विटमार्फत देशका महत्वपूर्ण डाटालाई अझ सुरक्षित राख्ने दिशामा नेपालले आजबाट फड्को मारेको बताएका छन् ।

सरकारी एकीकृत तथ्यांक केन्द्र सिंहदरबार परिसरभित्र छ। प्राकृतिक विपत्ति वा
मानव सिर्जित प्रकोपका कारण सिंहदरबारमा रहेको डाटा सेन्टरमा कुनै समस्या आइपरेमा हेटौंडाको डाटा सेन्टरले त्यसको विकल्पमा काम गर्नेछ भने डाटाहरु त्यहाँ सुरक्षित रहने र त्यहाँबाट उपयोग गर्न सकिनेछ।

सरकारले हाल विभिन्न मन्त्रालयहरु, तथ्यांक विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, यातायात विभाग, राहदानी विभाग, प्रहरी, अदालत, स्थानीय निकायमार्फत इन्टरनेटको माध्यमबाट अनलाईन सेवाहरु प्रदान गरिरहेको छ।

अनलाईन सेवा दिँदा सो सेवा र सेवाग्राही सम्बन्धी महत्वपूर्ण जानकारी र तथ्यांकहरु नियमितरुपमा उत्पादन हुन्छन र त्यस्तो तथ्यांकहरु स्वचालितरुपमा सिंहदरबारको केन्द्रीय सर्भरमा भण्डारण हुने गरेको छ। अब त्यस्तो तथ्यांकहरु नयाँ डाटा सेन्टरमा पनि ब्याकअपको रुपमा रहनेछन् । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट इ-प्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, इ-कस्टमलगायत सेवा सञ्चालन हुनेछन् ।

सन् २००८ कोरियाली अनुदानको २३ करोड रुपैयाँ लगानीमा नेपालमा पहिलो सरकारी डाटा सेन्टर सिंहदरबार परिसरमा स्थापना गरिएको थियो ।

Leave a Reply