एनसेलका प्रबन्ध संचालक अमरासेकराद्धारा राजिनामा, अब को होला नयाँ प्रमुख ?

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिका प्रमुख अर्थात प्रबन्ध संचालक सुरेन जे. अमरासेकराले पदबाट राजिनामा दिएका छन् । एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियटाले अमरासेकरालाई प्रबन्ध संचालकको रुपमा २०७४ असारमा नियुक्त गरेको थियो ।

उनले नेपालमा लामो अवधि काम गरेको भन्दै आफ्नो व्यक्तिगत कारणले यहि मे १० तारिखदेखि एनसेलकाे प्रबन्ध संचालक पदबाट राजिनामा दिएको उनीबारे जानकार दूरसंचार क्षेत्रमा कार्यरत स्रोतले बतायो ।

‘उनले व्यक्तिगत र घरायसी कारणले राजिनामा दिएका हुन्, केहि दिनअघि उनले एनसेलका कर्मचारीहरुसँग आफ्नो राजीनामा बारे समेत जानकारी गराईसकेका छन्,’ स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

उनको राजिनामा स्विकृत भईसकेको र अर्को नयाँ प्रमुखमा को आउँछ भन्ने कुनै जानकारी छैन्। एनसेलको संचालक समितिले हालसम्म आन्तरिकरुपमा पनि कसैलाई उनको राजिनामापछि जिम्मेबारी तोकेको छैन् ।

उनले नेपालमा एनसेलको प्रमुखको जिम्मेबारी निभाउनुअगाडि विश्वका विभिन्न बहुराष्ट्रिय कम्पनीहरुमा काम गरिसकेका थिए । उनीसँग दूरसंचार क्षेत्रमा नै २५ वर्षभन्दा बढि समयको अनुभव रहेको कम्पनीले नियुक्त गर्ने समयमा जानकारी दिएको थियो ।

Leave a Reply