डिजिटल नेपाल बनाउन पूर्वाधार निर्माण महत्वपूर्ण हुने विज्ञहरुको भनाई

Technology Khabar २० बैशाख २०७६, शुक्रबार

डिजिटल नेपाल बनाउन पूर्वाधार निर्माण महत्वपूर्ण हुने विज्ञहरुको भनाई
NTC_Advt

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि दिवस २०१९ को सन्दर्भ पारेर डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्णता दिने उद्धेश्यले सूचना प्रविधि विभागले कार्यशाला आयोजना गरेकोछ ।

शुक्रबार आयोजित सो कार्यशालामा सहभागीवक्ताहरुले डिजिटल नेपालको अभियानलाई अगाडि बढाउन पूर्वाधारको क्षेत्रमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल दूरसंचार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको लागि आवश्यक पर्ने इन्टरनेटको बिस्तार भईरहेको भन्दै पूर्वाधार निर्माणमा कठिनाई भएको बताए । डिजिटल एक्सेसका लागि प्राधिकरणले सेवा प्रदायकहरुलाई सेवा बिस्तार गर्न लगाएको र ग्रामीण क्षेत्रमा समेत पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए ।

‘हामी ब्याकबोन नेटवर्क तयार गरेर कुनैपनि स्थानमा अप्टिकल फाइबरमा समस्या आएपनि इन्टरनेटमा अवरोध नहुने गरि काम गरिरहेका छौं,’ उनले भने ।

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले सबै नागरिकलाई एउटै स्थानबाट सुविधा दिनेगरि नयाँ एप्स निर्माणको कार्य भईरहेको जानकारी दिए । उनले सरकारी कर्मचारीतन्त्रमा नै सूचना प्रविधिको बारेमा स्पष्ट धारणा नभएको हुँदा काम गर्न कठिन भएको बताए ।

‘स्मार्ट नेशनल आईडी नै सबै समस्याको समाधान नभएको भन्दै आवश्यक सेवासुविधाहरुलाई एकै स्थानमा जोड्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

यो एपमार्फत डिजिटल नेपालको फ्रेमवर्कमा भएका सबै विषयहरुलाई एकै स्थानमा जोड्न सकिने उनको भनाई थियो ।

क्यान नेपाल महासंघकी वरिष्ठ उपाध्यक्ष सुनैना पाण्डेले डिजिटल सेवा सुविधाहरुको लागि एउटा निश्चित केन्द्रिकृत पोर्टल बनाउनुपर्ने बताईन् । उनले नेपालमा सूचना प्रविधिको विकास गर्न भेन्चर क्यापिटलको व्यवस्था समेत गरिनुपर्ने बताईन् ।

त्यसैगरि प्राध्यापक डाक्टर सुवर्ण शाक्यले नेपालको लागि आवश्यक जनशक्ति तयार पार्न पहल गरिनुपर्ने बताए । उनले डिजिटल नेपालको लागि कस्तो किसिमको जनशक्ति आवश्यक पर्दछ त्यहि अनुसारको पाठ्यक्रम तयार पारेर विश्वविद्यालयसँग सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विरेन्द्र कुमार मिश्रले डिजिटल नेपाल फ्रेमवर्कको बारेमा जानकारी गराएका थिए । उनले सो फ्रेमवर्क अन्तिम चरणमा रहेको भन्दै त्यसलाई केहि परिमार्जन गर्दै छिटै ल्याउने बताए ।

प्रकाशित: २० बैशाख २०७६, शुक्रबार