प्रधानमन्त्री ओलीले भने- सूचना प्रविधिको सदुपयोग गरेर आर्थिक विकास गर्न सकिन्छ

Technology Khabar १९ बैशाख २०७६, बिहीबार

प्रधानमन्त्री ओलीले भने- सूचना प्रविधिको सदुपयोग गरेर आर्थिक विकास गर्न सकिन्छ

काठमाडौं ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोगबाट तिब्र आर्थिक विकास गर्न सकिने बताएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अहिले तिब्र विकास र परिवर्तनको युग भएको भन्दै उनले सूचना प्रविधि दिवस डिजिटल नेपालतर्फको यात्रा भएको बताए ।

प्रधानमन्त्री ओलीले विभिन्न किसिमले सूचना प्रविधिको प्रयोग गर्न सकिने भन्दै टेलिचिकित्सा, डिस्ट्यान्स लर्निंगलगायतका अनेक क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्याउन लागेको बताए ।

अब हरेक बच्चा बच्चाले मोबाइल प्रयोग गर्न लागेको भन्दै त्यसको दूरुपयोगबाट कसरी बचाउने भन्ने चिन्ता भएको बताए ।

‘राम्रो पनि गर्न सक्छ नराम्रो पनि गर्न सक्छ, राम्रो संदेश पनि दिन सकिन्छ, नराम्रो संदेशपनि । आजकल गालि गर्न मनलाग्यो भने सामाजिक संजालमा जानसकिन्छ । राम्रा कुराहरुलाई उत्साहित गरेर जाने हो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले सबैतिर इन्टरनेट पुर्याउन अप्टिकल फाइबर बिस्तार गर्ने प्रयास भईरहेको भन्दै यो सुविधाको सदुपयोग गर्नेमा ध्यान केन्द्रित भएको बताए । कम्प्यूटर, ल्यापटप लक्जरी सामाग्रीको रुपमा नभएको भन्दै त्यो आवश्यकताको विषय भएको भन्दै भेण्डरहरुले पनि त्यसमा सहुलियत दिनुपर्ने बताए ।

‘उत्पादनलाई प्रविधिसँग जोड्ने भनेका छौं र त्यसबाट तिब्र विकास गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले सकारात्मक मात्र सोच्नुपर्ने भन्दै सूचना प्रविधिको व्यापक प्रयोग गर्ने र समृद्ध नेपाल बनाउनुपर्ने बताए ।

कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अब कुनैपनि परियोजनाहरु नरोकिने बताए ।

‘अब प्रोजेक्ट होल्डिंगबाट मुक्त भएका छौं र अर्को वर्ष ठूलो फड्को मार्नेछौं,’ उनले भने ।

कार्यक्रममा सूचना प्रविधिको क्षेत्रमा सक्रिय र उत्कृष्ट काम गरिरहेका कम्पनीहरुलाई सम्मान गरिएको थियो ।

नेशनल आईसिटी इनोभेशन अवार्ड २०१९ पाईला टेक प्रालि, नेशनल आईसिटी पब्लिक सेक्टर अवार्ड २०१९ बाट नेपाल प्रहरी, निजी क्षेत्रबाट वल्र्डलिंक कम्यूनिकेसन्स प्रालि र नेशनल आईसिटी एक्सलेन्स अवार्ड २०१९ बाट ईन्जिनियर सुरेश कुमार कर्णलाई प्रदान गरिएको थियो ।

गर्ल्स इन आईसिटी

राष्ट्रिय सूचना प्रविधि दिवसकै अवसर पारेर नेपाल दूरसंचार प्राधिकरणले केहि दिनअघि गल्र्स इन आईसिटी कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा सूचना तथा महिला सशक्तिकरणको लागि उत्कृष्ट क्षमता प्रदर्शन गरेका पाँच वटा संस्थाहरुलाई सम्मान गरिएको थियो। विगत लामो समयदेखि सूचना तथा सञ्चार प्रविधिमा महिला सशक्तिकरणको लागि उल्लेख्य भूमिका निर्वाह गरेको कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघलाई सम्मान गरिएको थियो।

त्यसैगरी सबैभन्दा बढी महिला समेटी सूचना तथा सञ्चार प्रविधिमा महिला सशक्तिकरण गर्ने सोसाइटी अफ इन्फरमेशन कम्युनिकेशन टेक्नोलोजी नेपाल तथा सबैभन्दा बढी जिल्लामा सूचना तथा सञ्चार प्रविधिमा महिला सशक्तिकरण गर्ने रोबिटिक्स असोसिएसन अफ नेपाललाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा महिलाहरुबाट निर्मित सूचना प्रविधिमुलक Hardware तथा Software को प्रदर्शनी गरिएको थियो।

Global Bank
easy care

प्रकाशित: १९ बैशाख २०७६, बिहीबार

ताजा समाचार