सामाजिक संजाललाई नियन्त्रण नभई नियमन गर्नुपर्ने सांसदहरुको भनाई

Technology Khabar १६ बैशाख २०७६, सोमबार

सामाजिक संजाललाई नियन्त्रण नभई नियमन गर्नुपर्ने सांसदहरुको भनाई

काठमाडौं ।

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारे छलफल भएको छ । सो छलफलमा सांसदहरुले सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् ।

समितिअन्तर्गत सो विधेयक सम्बन्धी गठित उपसमितिले सोमवार आयोजना गरेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा समितिका सदस्यले सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको भन्ने सन्देश प्रवाह भइरहेको भन्दै त्यसलाई नियमन मात्रै गर्नुपर्ने धारणा राखे ।

समिति सभापति कल्याणीकुमारी खड्काले ऐनमा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट वाक्य अंश राख्न नहुने भन्दै जनताले ऐनबारे प्रस्ट बुझ्न र अर्थ लगाउन सकिने किसिमको हुनुपर्ने बताईन्।

उपसमिति सदस्य केदार सिग्देलले प्रविधिको विकासले अन्य क्षेत्रको विकासलाई समेत सकारात्मक प्रभाव पार्ने भएकाले व्यवस्थित ढंगबाट नियमन गर्ने गरी नयाँ कानून ल्याउनुपर्ने बताए ।

सांसद ईन्द्रकुमारी शर्माले पछिल्लो समयमा प्रविधिको सदूपयोगभन्दा पनि दुरुपयोग भइरहेको भन्दै सो क्षेत्रको विकृतिलाई रोक्नका लागि पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिईन ।

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले विकृति र विसंगतिलाई हटाउँदै सामाजिक सञ्जालको क्षेत्रलाई व्यवस्थित गर्ने र करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउने तयारी गरेको जानकारी दिए ।

उपसमितिका संयोजक विनाकुमारी श्रेष्ठले सैद्धान्तिक छलफलपछि विधेयकमाथि दफावार छलफलसँगै छिट्टै समितिले टुंगो लगाउने बताईन् । समितिले गत चैत १८ गते उपसमिति गठन गरेको थियो ।

माध्यम

easy care

प्रकाशित: १६ बैशाख २०७६, सोमबार