गूगलले फिचर फोनको लागि छुट्टै अपरेटिंग सिस्टम विकास गर्दै

काठमाडौं । एन्ड्रोयड विश्वको सबैभन्दा धेरै प्रयोग हुने मोबाइल अपरेटिंग सिस्टम हो । स्मार्टफोन, ट्याबलेट, र अन्य विभिन्न डिभाइसहरु ठूलो मात्रामा एन्ड्रोयडमा आधारित छन् ।

त्यसैले यसअघि गूगलले सस्तो डिभाइसहरुका लागि लाइट भर्सनमा एन्ड्रोयड गो अपरेटिंग सिस्टम लन्च गरेको थियो । तर अझैपनि कम्पनी ठूलो बजारको रुपमा रहेको फिचर फोन सेगमेन्टमा भने प्रवेश गर्न सकेको छैन् ।

यहि विषयलाई ध्यानमा राखेर गूगलले एन्ड्रोयडको नयाँ भर्सन विकास गरिरहेको छ जून सिस्टम बटनमा आधारित भएर संचालन हुनेछ । अर्थात कम्पनीले फिचर फोनको लागि एन्ड्रोयडको नयाँ भर्सन ल्याउने भएको छ जुन फोनको बटन थिचेको आधारमा अपरेट हुनेछ ।

सो नयाँ अपरेटिंग सिस्टमको बारेमा देखिएको एउटा स्क्रिनसटकाअनुसार कम्पनीले एन्ड्रोयड ओरियो स्टायलको आइकनहरु, स्ट्याटस बारहरु राखेको देखिन्छ । क्रोममा देखिएको यो भर्सन एन्ड्रोयड ओरियोमा आधारित भएको तर नन टच अर्थात टच नगरि संचालन हुने अपरेटिंग सिस्टम भएको बताईएको छ ।

यो जानकारीको आधारमा हेर्दा गूगलले फिचर फोनको लागि छुट्टै अपरेटिंग सिस्टम बनाईरहेको देखिन्छ जून अहिले संचालनमा रहेको काईओएसको प्रतिस्पर्धी हुनेछ ।

स्टयाटकाउन्टरको तथ्यांकअनुसार विश्वभर मार्च महिनामा एन्ड्रोयडमा आधारित फोनहरुको बजार हिस्सा ७५.३३ प्रतिशत छ भने आईओएसको बजार २२.४ प्रतिशत तथा काईओएसको हिस्सा ०.८ प्रतिशत मात्र छ । त्यस्तै नोकिया अपरेटिंग सिस्टम, विण्डोज मोबाइल अपरेटिंग सिस्टम तथा सामसंगको टाइजेन अपरेटिंग सिस्टम पनि प्रयोगमा छन् ।