Technology Khabar १३ बैशाख २०७६, शुक्रबार
काठमाडौं ।
अनुज राज । काठमाडौं । पछिल्लो दिनमा सरकारले मेक इन नेपालअन्तरगत नेपालमै मोबाइल फोन उत्पादनको संभावनाबारे अध्ययन गर्ने भएको छ । सरकारको तर्फबाट नेपाल दूरसंचार प्राधिकरणले नेपालमा नै मोबाइल फोन उत्पादन तथा एसेम्बलको संभावना अध्ययन गराउने भएको हो ।
प्राधिकरणले मेक इन नेपाल अभियान अन्तरगत मोबाइल फोन नेपालमा नै बनाउन वा पुर्ननिर्माण गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गराउन लागेको हो । प्राधिकरणले यसको लागि एभरेष्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर संभाव्यता अध्ययनको लागि जिम्मा दिएको छ ।
सो संस्थाले नेपालभित्रै विभिन्न मोबाइल ह्याण्डसेटहरु निर्माण तथा एसेम्बल्ड गर्न सकिने संभावना तथा पुनर्निमाण गर्न सकिने संभावनाको बारेमा प्राधिकरणलाई संभाव्यता अध्ययन प्रतिवेदन दिनेछ ।
मोबाइल फोनहरु विभिन्न देशहरुबाट ठूलो मात्रामा आयात हुने गरेको र ठूलो धनराशी खर्च भईरहेको भन्दै प्राधिकरणले नेपालभित्रै मोबाइल फोन उत्पादनको संभावना खोजेको प्राधिकरणका उप निर्देशक विनोद चन्द्र श्रेष्ठले जानकारी दिए ।
‘वर्षेनी २५ अर्ब भन्दा बढिको मोबाइल फोन आयात भईरहेको छ, नेपालभित्रै एसेम्बल्ड वा रिफर्बिस्ड गरेर १० प्रतिशत मात्रै पनि बचत गर्न सकियो भनेपनि व्यापार घाटा कम गर्न सकिन्छ,ु उप निर्देशक श्रेष्ठले टेक्नोलोजीखबरसँग भने।
उनले आगामी दिनमा मोबाइल फोन एसेम्बल्ड वा रिफर्बिस्डबाट रोजगारी सिर्जना गर्न सकिने, राज्यलाई थप करको स्रोत हुने र डिजिटल नेपाललाई सहयोग हुने दाबी गरे ।
प्राधिकरणकाअनुसार अन्य उच्च तहका वा स्मार्टफोनहरु एसेम्बल्ड गर्न नसकिएपनि फिचर फोन (बार फोन पनि भनिने) हरु नेपालभित्रै एसेम्बल्ड गरेर उत्पादन गर्न सकिने संभावना रहेको छ । अहिले नेपालमा आवश्यक पर्ने फिचर फोनहरु यहि उत्पादन वा एसेम्बल्ड गर्न सकिए देशको ठूलो खर्च जोगिने उप निर्देशक श्रेष्ठको अनुमान छ ।
त्यस्तै प्राधिकरणले धेरै पहिलेदेखि चासो राख्दै आएको मोबाइल फोनको रिफबिस्ड योजनालाई पनि यहि अध्ययनभित्र समावेश गरिएको छ ।
पुराना स्मार्टफोनहरुलाई विभिन्न कम्पनीहरुले प्रमाणिकरण गरेर पुन नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्यलाई रिफर्बिस्ड भनिन्छ, विश्वका विभिन्न देशहरुमा मोबाइल फोन कम्पनीहरु तथा अन्य मान्यता प्राप्त कम्पनीहरुले यस्तो रिफिर्बिस्ड मोबाइल फोनहरु बिक्री गर्दै आएका छन् ।
विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पलले पनि एक्सचेन्ज योजनामा आएका आफ्ना पुराना आईफोनहरु उपभोक्ताहरुबाट फिर्ता लिएर त्यसलाई मर्मत गरेर नयाँ जस्तै बनाएर बिक्री गर्ने गर्दछ । तर यस्तो रिफर्बिस्ड गरिएका स्मार्टफोनहरुको मूल्य नयाँ स्मार्टफोनहरुको भन्दा कम तोकिएको हुन्छ ।
रिफर्बिस्ड फोन बिक्री गर्नको लागि आवश्यक पूर्वाधार र मापदण्ड तयार पारेर विभिन्न कम्पनीहरुलाई मान्यता दिन सकिने बारेमा पनि अध्ययन केन्द्रित हुनेछ ।
यो अध्ययनमा नेपालमा संचालनमा रहेका सफ्टवेयर कम्पनीहरुले मोबाइलमा आधाति भएर बनाउने विभिन्न सफ्टवेयर क्षमताको बारेमा पनि समावेश गरिनेछ ।
परामर्शदाताले सो अध्ययन प्रतिवेदन चालु आर्थिक वर्षभित्र दूरसंचार प्राधिकरणलाई बुझाउने छ र सोहि आधारमा आगामी आर्थिक वर्षमा थप प्रकृया अगाडि लैजाने प्राधिकरणको योजना छ ।
प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार