खल्ती डिजिटल वालेटलाई राष्ट्र बैंकबाट अनुमती, भुक्तानी सेवा प्रदायकको कार्य गर्ने

Technology Khabar ११ बैशाख २०७६, बुधबार

खल्ती डिजिटल वालेटलाई राष्ट्र बैंकबाट अनुमती, भुक्तानी सेवा प्रदायकको कार्य गर्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत हुने बताईएको छ ।

‘नेपाल राष्ट्र बैंकबाट प्राप्त भुक्तानी सेवा प्रदायकको यस आधिकारिक लाइसेन्सले हामीलाई अझै तीब्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साह प्रदान गरेको छ । हामी अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्नेछौँ । बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने पनि हाम्रो उद्देश्य रहनेछ,’ कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले भने ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु-आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीकाअनुसार हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८,००,००० भन्दा बढि रहेको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ११ बैशाख २०७६, बुधबार

ताजा समाचार