दूरसंचार प्राधिकरणमा कर्मचारी यूनियनको आन्दोलन, कालोपट्टि बाँधेर काममा

Technology Khabar ८ बैशाख २०७६, आईतवार

दूरसंचार प्राधिकरणमा कर्मचारी यूनियनको आन्दोलन, कालोपट्टि बाँधेर काममा

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका कर्मचारीहरुको यूनियनले आफ्ना मागहरु पुरा नभएको भन्दै आइतवारदेखि कालोपट्टि बाँधेका छन् ।

यसअघि पटक पटक संचार तथा सूचना प्रविधि मन्त्रालय तथा प्राधिकरण बोर्डसमक्ष सेवासुविधा समायोजन गरिनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएकोमा नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनले आइतवारदेखि पाखुरामा कालोपट्टि बाँधेर विरोध गरेका हुन् ।

प्राधिकरणका कर्मचारीहरुले आइतवारदेखि साताभर कालोपट्टि बाँधेर नै कार्यालयको काम गर्ने उल्लेख गरेका छन् । कर्मचारी यूनियनका एक सदस्यले आफ्ना माग पुरा नभएसम्म चरणबद्धरुपमा विरोधका कार्यक्रमहरु गर्ने जानकारी दिए ।

यसअघि यूनियनले दूरसंचार प्राधिकरणको नेतृत्वलाई विभिन्न मागहरु पुरा गर्न ज्ञापनपत्र दिएको र संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि सो बारेमा जानकारी गराएको उल्लेख गरेको छ ।

कर्मचारी यूनियनले आफ्ना मागहरुको बारेमा २०७५ वैशाख १० गते नै मन्त्रालयले सेवा सुविधा वृद्धि बारेको फाइलमा निर्णय गरेपनि सो निर्णयअनुसार काम नभएको भन्दै आन्दोलन गरिरहेका छन् ।

यसअघि दूरसंचार प्राधिकरणको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संचार मन्त्रि गोकुल बाँस्कोटाले दूरसंचार प्राधिकरणका कर्मचारीहरुको सेवा सुविधा अन्य सरकारी संघ संस्थाहरुको भन्दा उत्कृष्ट रहेको बताएका थिए । उनले प्राधिकरणका कुनै अधिकृतको तलब कम भएको भए आफूकहाँ लिन आउन भन्दै सेवा सुविधाबारे धेरै गुनासो नगर्न सुझाव दिएका थिए ।

easy care

प्रकाशित: ८ बैशाख २०७६, आईतवार