यी हुन सबैभन्दा कमजोर पासवर्ड, १२३४५६ पासवर्ड सबैभन्दा धेरै प्रयोग

काठमाडौं । करोडौं मानिसहरुले आफ्नो संवेदनशिल जानकारीहरु भएका एकाउन्टहरु सुरक्षित गर्नको लागि निकै कमजोर र अनुमान गर्न सकिने किसिमका पासवर्डहरु प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

हालै बेलायतको नेशनल साइबर सेक्यूरिटी सेन्टरले गरेको अध्ययन विश्लेषणअनुसार मानिसहरुले सबैभन्दा धेरै १२३४५६ (123456)पासवर्ड प्रयोग गर्ने गर्दछन जुन पासवर्ड भएका एकाउन्टहरु ह्याकरले सजिलै ह्याक गर्न सक्दछन् ।

सो सेन्टरकाअनुसार मानिसहरुसँग साइबर सुरक्षासँग जोडिएको ती विषयहरुबारे ज्ञान कम भएको भेटिएको छ । र यो अध्ययनले मानिसहरुको जोखिमको पाटोलाई उजागर गरेको छ ।

एनसिएससिले आफ्नो पहिलो साइबर सर्भेमा यस्ता सार्वजनिक डाटाबेस एकाउन्टहरुको विश्लेषण गरेको थियो जसमा ह्याक गरिसकिएको थियो । र यसबाट यो पत्ता लाग्यो कि मानिसहरुले कुन शब्दहरु, वाक्यहरु आदिको पासवर्डको रुपमा प्रयोग गर्दछन् । यो सूचीमा सबैभन्दा माथिल्लो तहमा १२३४५६ सबैभन्दा अग्रस्थानमा थियो जसलाई २ करोड ३० लाख पासवर्डहरुमा प्रयोग गरिएको थियो ।

सो अध्ययनअनुसार दोस्रो सबैभन्दा धेरै प्रयोग भएको पासवर्डमा १२३४५६७८९ (123456789) थियो जसलाई ह्याक गर्न कुनै कठिनाई हुँदैन । जबकि अन्य प्रमुख पासवर्डहरुमा क्वेर्टि (qwerty), पासवर्ड (password)र १११११११ (1111111)नम्बर रहेको थियो ।

अध्ययनअनुसार पासवर्डको रुपमा प्रयोग गरिने सामान्य नामहरुमा अंग्रेजी शब्द एस्ले(Ashley), माइकल(Michael), ड्यानिय(Daniel), जेसिका(Jessica) र चार्ली(Charlie) रहेको थियो ।

जब बेलायतमा प्रिमियर लिग फुटबल टिमको नाम पनि अनुमान गर्न सकिने किसिमको पासवर्डमा रहेको थियो । जसमा लिभरपुलको प्रयोग सबैभन्दा धेरै थियो भने चेल्सी क्लबको नाम दोस्रो स्थानमा थियो । संगीतसँग सम्बन्धित ब्लींक–१८२(blink-182) पनि म्यूजिक गतिबिधिमा प्रयोग हुने धेरै पासवर्डमध्ये एक हो ।

एनसिएससिका टेक्निकल डाइरेक्टर डा. इयान लेभीले भने, ‘जो मानिसहरुले चिरपरिचित शब्दहरु वा नाम पासवर्डको रुपमा प्रयोग गर्दछ, उनीहरु आफैं ह्याक हुने सबैभन्दा बढि जोखिममा हुन्छन् ।’
कसैले पनि संवेदनशिल डाटाहरु सामान्य अनुमान गर्ने किसिमको पासवर्डका साथमा सुरक्षा गर्न नसक्ने उनले भने ।

सो अध्ययन विश्लेषणमा मानिसहरुलाई सेक्यूरिटी बानीहरुको बारेमा पनि सोधिएको थियो । जसमा ४२ प्रतिशत मानिसहरुले अनलाइन फ्रडमा रकम गुमाउने अनुमान गरेका थिए भने केबल १५ प्रतिशतले मात्रै अनलाईनमा आफूलाई कसरी पूर्णरुपमा सुरक्षा गर्ने भनेर बताएका थिए ।

सुरक्षा विज्ञ ट्रोय हन्टकाअनुसार आफ्नो अनलाइन सिक्योरिटीका लागि मानिसहरुसँग एउटा उत्कृष्ट पासवर्ड छनौट गर्ने एकमात्र र सबैभन्दा ठूलो तरीका हो ।