नेपाल स्याटेलाइट यूगमा: नानो स्याटेलाइटको सफल प्रक्षेपण

Technology Khabar ५ बैशाख २०७६, बिहीबार

नेपाल स्याटेलाइट यूगमा: नानो स्याटेलाइटको सफल प्रक्षेपण
Classic Tech

काठमाडौं । नेपालको आफ्नै स्याटेलाइट ‘नेपाली स्याट-१’ अन्तरिक्ष केन्द्रमा अवतरण गरेको छ । बिहिबार अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट पठाइएको उक्त स्याटेलाईट पृथ्वीबाट प्रक्षेपण गरेको ५० मिनेटमा अन्तरिक्षमा अवतरण गरेको हो ।

नेपाली समय अनुसार बिहान २ बजे प्रक्षेपण केन्द्रबाट उडेको रकेटले नेपाली झण्डा तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) को लोगोअंकित उक्त स्याटेलाईटलाई ५० मिनेटमा अन्तरिक्षमा पुर्याएको हो । नाष्टको पहलमा १ किलो ३ सय ग्रामको नानो स्याटेलाइट संयुक्त राष्ट्र संघको सहकार्यमा जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजीमा बर्डस् परियोजनाअन्तर्गत विकास गरिएको हो ।

नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठलगायत ८ बैज्ञानिकले ‘नेपालीस्याट १’ नाम दिईएको उक्त स्याटेलाइट तयार गरेका हुन् । अन्तरिक्षमा पठाईएको सव् स्याटेलाइट करिब एक महिना अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने छ ।

एक महिनाको परीक्षणपछि मात्र त्यसलाई पृथ्वीको कक्षमा स्थापना गरिने छ । स्याटेलाइटले जलबायु परिवर्तनसम्बन्धी अध्ययन तथा शहरी विकास योजनाको तयारीजस्ता कार्यमा सहयोग पुग्ने बताईएको छ । रिमोट सेन्सिङ सुविधा भएकाले त्यसले विपद पूर्व सूचनामा पनि सघाउने छ ।

नेपाली स्याटेलाइटसँगै एउटै पेलोडमा विभिन्न देशका तथा कम्पनीका २८ वटा स्याटेलाईट अन्तरिक्षमा पठाईएको छ ।

नेपालको पहिलो स्याटेलाइट १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर अग्लो र १० सेन्टिमिटर चौडा छ र यसको तौल करिब एक किलो ३३० ग्रामको छ । सो स्याटेलाइट पृथ्वीको सतहभन्दा चारसय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ ।

सो स्याटेलाइटले पठाउने तस्विरहरु लगायतका जानकारी प्राप्त गर्नको लागि नास्टले आफ्नै परिसरमा ग्राउण्ड स्टेशन बनाउने तयारी गरिरहेको छ । त्यसको लागि टेण्डरलगायतको प्रकृया भईसकेको नाष्टले जानकारी दिएको छ ।

सो स्याटेलाइटसहित सोहि परियोजनामा पठाईएका अन्य स्याटेलाइटबाट प्राप्त जानकारीहरु एक आपसमा हेर्न सकिने नाष्टको भनाईछ । नेपालको पहिलो भूउपग्रहको आयु ३ वर्षको हुने
नाष्टले जानकारी दिएको छ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा समावेश भएको बताएका छन् । उनले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि सो प्रक्षेपणमा सहभागी सबैलाई बधाई समेत दिएका छन् ।

TK Viber

प्रकाशित: ५ बैशाख २०७६, बिहीबार

Loading...