एनसेललाई ७ दिनभित्र ३९ अर्ब कर तिर्न म्याद, ठूला करदाता कार्यालयले पठायो पत्र

Technology Khabar ३ बैशाख २०७६, मंगलवार

एनसेललाई ७ दिनभित्र ३९ अर्ब कर तिर्न म्याद, ठूला करदाता कार्यालयले पठायो पत्र

काठमाडौं ।

काठमाडौं । एनसेल प्रालिले सात दिनभित्र पुँजीगत लाभकर बापत सरकारलाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेसँगै सात दिनभित्र सो कम्पनीले तिनुपर्ने भएको हो ।

स्विडिस कम्पनी टेलियासोनेराले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र एक्जियटालाई तिराउने सर्वोच्च अदालतको फैसलाको आधारमा ठूला करदाता कार्यालयले निर्धारण गरेको हो । सर्वोच्चले सो फैसला गत माघमा दिएको थियो भने त्यसको पूर्ण पाठ चैतको अन्तिममा आएको थियो।

सर्वोच्चले फैसलाको पूर्ण पाठ दिँदै तीन महिनाभित्र एनसेलबाट पुँजीगत लाभकर उठाउन सरकारलाई आदेश जारी गरेको थियो।

फैसलाअनुसार ठूला करदाता कार्यालयले टेलियासोनेराले एक्जियटालाई २०७२ साल चैत २९ गते एनसेल बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार रुपैयाँ पुँजीगत लाभ भएको उल्लेख गरेको थियो भने त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ २०७४ असार १३ गते निर्धारण गरेको थियो।

त्यसमध्ये एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रूपमा तिरिसकेको थियो। त्यस्तै विलम्ब शुल्कवापत २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ पनि एनसेलले ठूला कर दाता कार्यालयमा तिरेको थियो।

एनसेलले अब बाँकी कर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ ७१ पैसा सात दिनभित्र तिर्नुपर्ने भएको छ।

कार्यालयले हाल ब्याजसहित कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ । त्यसमध्येको यसअघि बुझाएको कर कट्टि गरी बाँकी कर सात दिनभित्र बुझाउनुपर्ने भएको हो ।

सो बारेको पत्र एनसेलले मंगलबार नै बुझेको ठूला कर दाता कार्यलयले जनाएको छ ।

abd489b9-67b8-4991-81f3-a0bf366bc4e2press-relese

easy care

प्रकाशित: ३ बैशाख २०७६, मंगलवार