मोबाइल ब्याट्री परीक्षण गर्न योग्य कम्पनी भेटिएनन, पुन: आवेदन माग गरिँदै

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल ब्याट्री परिक्षणको लागि माग गरेको बोलपत्र रद्ध गरेको छ । प्राधिकरणले यसअघि सन् २०१९ जनवरी २८ तारिखमा इच्छुक कम्पनीहरुलाई मोबाइल ब्याट्री परीक्षण प्रणाली आपूर्ति, जडान र संचालन गर्नको लागि आवेदन माग गरेको थियो ।

तर प्राधिकरणले तोकेको शर्त र मापदण्ड पुरा गर्ने कम्पनीहरुले आवेदन नदिएको हुँदा सो बोलपत्र आवेदन खारेज गरेको जानकारी दिएको छ ।

प्राधिकरणले नेपालमा आयात भएर बिक्री हुँदै आएका तथा आयातको लागि आवदेन दिएका मोबाइल फोनहरुको ब्याट्री परीक्षण गर्ने योजनाका साथ सो बोलपत्र खुला गरेको थियो ।

मोबाइलको ब्याट्री कम्पनीले तोकेको मापदण्ड र स्तरअनुसारको भए नभएको, त्यसको चार्ज गर्ने क्षमता र समयलगायतको परीक्षण गर्नेछ ।

प्राधिकरणका सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठले नेपालमा आयात गरिएका मोबाइल फोनमा प्रयोग हुने ब्याट्री परीक्षण गर्न मोबाइल ब्याट्री परीक्षण प्रणाली राख्न लागिएको बताए ।

‘हामीले स्मार्टफोन र फिचर फोनमा प्रयोग गरिने ब्याट्रीको मापदण्ड तय गरेका छौं र त्यो अनुसार भए नभएको परीक्षण गर्न यो राख्न लागिएको हो,’ सहायक निर्देशक श्रेष्ठले टेक्नोलोजीखबरसँग भने ।

मोबाइल ब्याट्री परीक्षण प्रणालीको लागि हाल रद्ध गरिएको टेण्डर आवेदन फेरी केहि दिनभित्रै खुला गर्ने तयारी समेत गरिएको उनले जानकारी दिए ।

सो मोबाइल ब्याट्री परीक्षण प्रणालीको लागि प्राधिकरणले ३५ लाख रुपैयाँ खर्च गर्ने योजना लिएको छ । हाल नेपालमा स्मार्टफोनका लागि न्यूनतम १,००० एमएएच र फिचर फोनको लागि न्यूनतम ६,०० एमएएच क्षमताको ब्याट्री हुनुपर्ने मापदण्ड तोकिएको छ । सो भन्दा कम क्षमताको ब्याट्री जडान भएका स्मार्टफोन र फिचरको लागि प्राधिकरणले टाइप अप्रुभल जारी गर्दैन् ।

Leave a Reply