Technology Khabar १ बैशाख २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले च्याटिंग एप मेसेन्जरलाई पुनः मुख्य एपमै मर्ज गर्ने तयारी गरेको छ । सन् २०१९ को शुरुवातसँगै कम्पनीले दुबै एपलाई मर्ज गर्ने रिपोर्ट आएका थिए ।
फेसबुक प्रयोगकर्ताले फेसबुक एप इन्स्टल गरेपनि च्याट गर्न तथा फाइल सेयर गर्न मेसेन्जर एप छुट्टै डाउनलोड र प्रयोग गर्नुपर्छ।अब भने फेसबुक र मेसेन्जर एउटै एपमा आउने भएका हुन् ।
टेकअनुसन्धानकर्ता जेन मन्चुन वङले ट्विट गर्दै पछिल्लो समय फेसबुकले मेसेञ्जरलाई पुन मुख्य एपमै जोडने संकेत देखिएको उल्लेख गरेकी छन् । फेसबुक एपमा त्यसको संकेत देखिने खालका परिवर्तन गरिएको पनि उनले जानकारी दिईन्।
उनले ट्वीटरमा सो सम्बन्धि स्क्रीन सट पनि राखेकि छन्, जसअनुसार फेसबुक एपको सबैभन्दा माथि दायाँ भागमा देखिने मेसेन्जर आइकनमा क्लिक गर्दा त्यसैमा च्याट सेक्सन खुल्ने छ । उनका अनुसार फेसबुकमा देखिएको यो परिवर्तन फेसबुकले मेसेञ्जर एपलाई एकै स्थानमा ल्याउने संकेत भएको बताईन् ।
यो नयाँ फिचरमा च्याट गर्ने सुविधा भएपनि फोटो तथा फाइल पठाउन र फोन गर्न भने मेसेन्जर एपमा नै जानु पर्नेछ । फेसबुकका सिईओ मार्क जूकरबर्गले पनि यो विषयको पुष्टि गरेका छन तर यो छिटै आउने संभावना नभएको बताएका छन् । फेसबुकले यसअघि सन् २०१४ सम्म एउटै एपमा च्याट गर्ने सुविधा दिँदै आएको थियो ।
यसअघि फेसबुकले इन्स्टाग्राम, मेसेञ्ज्र र ह्वाट्सएप सबै मेसेञ्जरलाई एकीकृत गर्ने योजना सार्वजनिक गरेको थियो । यस्तो परिवर्तन सन् २०१९ को अन्त्यसम्ममा पूरा हुने बताइएको छ । तर अहिलेका लागि भने यी एपहरु छुट्टाछुट्टै नै संचालन भईरहनेछन् ।
प्रकाशित: १ बैशाख २०७६, आईतवार